तेजविलास अधिकारी
शुरु भएको छ
नाटकको नयाँ अङ्क
भक्ति रस निर्माण गर्न
शक्तिकोअलाप्दै राग आतङ्कित छ मेरो
पुरै गाउँ बस्ती
तलैदेखिको ठेक्काको सेटिङ
जरैदेखिको
खोजी भक्तहरूको।
अझ सुन्दैछु म त परोक्ष
साउती पनि नमार्ने आदेश
भाउ बढाउने व्यापारी
मान्छे बेच्ने सामाजिक अभियन्ता
महान चाकरी धावक
जनता मार्ने अपराधी
पुरस्कारै पुरस्कारले छोपिएको
यो नयाँ अङ्क
यो नयाँ दृश्य ।
नवीन नाटकको
समर्थक बाहेकलाई
विरोधी देख्ने
बढाएर अरुमा थप असुरक्षा
बाँच्ने त शासक मात्र हो।
नयाँ सिद्धान्तको प्रतिपादन गर्दै
लेखिएको यो
मूलत: वीरकालीन
जङ्गबहादुरको पदचाप बुझ्न
मद्दत पुर्याउने सामग्री
नयाँ स्वादमा
अनाटक भनेर के गर्नु अरुले?
शुरु भएको छ
अनेकानेक प्रपन्च सिकाउने
जिरो कुटनीति भएको
एउटा बेजोड
‘एक्ले वीर’ शीर्षकको
अकला नै
कला भनिएको/मानिएको
अब्बल गद्दार
विशेष अङ्क नाटकको
एउटा अदृश्य साउती पनि
बनाउन सक्ने दृश्य काव्य
क्या!नयाँ उर्जा भएको
निस्केछ
नाटकको अर्को आचार्य
भरतमुनि भन्दा पछाडि
जसले
लेखेको छ नयाँ नाटक
जनमारा झुटाचार्यको
प्रस्तुत भैरहेको छ
त्यसको नयाँ अङ्क
साउती नमारी हेर्न सकिने
रमाइलो मान्दै।