एक दिन विद्यालयबाट फर्कँदै गर्दा मेरी सानी छोरीले प्रश्न सोधिन् “बाबा ! हजुरले सधैँ मलाई देशभक्ति गीतमा मात्र नाच्न लागाउनु हुन्छ । हिजो नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा `आँखैमा राक्छु मेरो देश´ गीतमा नाच्न लगाउनु भो ।साथीहरूले खिस्सी गरे । उनीहरूको गीतमा कति हुटिङ भो रे । मेरो गीतमा त हुटिङ पनि भएन रे ।” छोरीको कुराले म एकै छिन रोकिएँ । के उत्तर दिने मसँग तत्कालीन उत्तर त थिएन ।

मैले छोरीलाई बोलाउँदै, “नानी एकपटक यता आऊ त” “यो मेरो हात हेर ! किन बाङ्गगो छ ? यो आन्दोलनमा जाँदा प्रहरीको लाठीचार्ज परेको हात हो । त्यतिबेला देश बचाउने आन्दोलन थियो छोरी । निरङ्कुस शासनको विरुद्ध तिम्रो बाबा र अरुले निकै दु:ख पाएका थिए । अझ तिमीहरूले देश भक्तिको गीत गाउन नछोड है । देशभन्दा माथि कोही पनि हुँदैन । यो देशको माया गर्ने व्यक्ति नै नेपाल अामाका असल सपूत हुन । देश लुट्नेहरूले लुटपाट गर्दैमा देशभक्तहरूले कहिल्यै हार खाँदैनन् ।” “खै त बाबा ! यो देशमा परिवर्तन ल्याउन हजुरले योगदान दिनु भो तर देश र जनताकाे अवस्था किन उस्तै ?” ” नानी मेरो परिवर्तन होइन देशको हुनुपर्छ र सबै नेपालीले सुख पाउनु पर्छ ” जबसम्म भ्रष्टाचार र कुशासनकाे अन्त्य हुँदैन तबसम्म देशमा विकास हुँदैन ।

अरुले जे भनुन् तर हामीले राम्रो बाटो हिँड्न छोडन हुँदैन ।””म लगातार बोलिरहेको थिएँ ।” त्यही बीचमा भित्रबाट एउटा पुरानो चन्द्रसूर्य अङ्कित झन्डा बोकेर,” हो बाबा ! म सधैं यस्तै गीत गाउँछु ,आँखैमा राख्छु मेरो देश मुटुमा राख्छु मेरो देश……….!”

दुर्गा घिमिरे  र.न.पा.१४ चितवन