इच्छाकामना : कवि अनिल श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको परिचर्चा गरिएको छ । सामुदायिक रेडियो, इच्छाकामना एफएम कुरिनटारमा शनिबार एक साहित्यिक कार्यक्रमको आयोजना गरेर कवि श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको तेस्रो संस्करणको परिचर्चा गरिएको हो ।
कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समीक्षक तेजविलास अधिकारीले कविता सङ्ग्रह बारे समीक्षात्मक दृष्टिकोण राखेका थिए । कवि सुदर्शन कट्टेल, रामजी त्रिपाठी, ईश्वरविलास अधिकारी र पत्रकार हीरालाल गुरुङले कविता सङ्ग्रहमा रहेका एक–एकवटा कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि श्रेष्ठले सङ्ग्रहभित्र रहेका केही कविताहरूको रचना गर्भबारे आफ्नो अनुभव र अनुभूतिहरू राखेका थिए भने इच्छाकामना एफएमका दानबहादुर गुरुङले कार्यक्रममा सहभागी साहित्यकारहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कविता सङ्ग्रहलाई जनमत प्रकाशन नेपाल, बनेपाले प्रकाशन गरेको हो ।