इच्छाकामना,२५ मंसिर । चितवनको इच्छाकामनामा तीन दिने सडक दुर्घटना पश्चातको उद्धार तथा प्राथमिक उपचार सम्बन्धि तालिम सुरु भएको छ ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषदले चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा दुर्घटना पश्चात् तत्कालिन उद्धार र प्राथमिक उपचार क्षमतामा सुधार ल्याउने उद्देश्यसहित तीन दिने विशेष प्रशिक्षण तालिम सुरु गरेको हो ।
आज पहिलो दिन डा.अशोक बज्राचार्य,सडक सुरक्षा परिषद्का प्राविधिक इन्जिनियर सरोज प्रधान, सशस्त्र प्रहरीको विपद् अस्पतालका डिआइजी डा. रुपक महर्जनले सडक सुरक्षा सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।तालिममा मुग्लिनदेखि नांगढुंगा सडक क्षेत्रका नागरिकहरुको सहभागिता रहेको थियो ।
यसैबिच भोली दोश्रो दिन स्वास्थ्यकर्मी र तेश्रो दिन शनिबार एम्बुलेन्स चालकहरुलाई प्रशिक्षण दिईने छ ।
तालिमको समुद्घाटन कार्यक्रममा इच्छाकामना गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपालले सवारी चाप रहने यस मुग्लिन–नांगढुंगा सडकखण्डमा धेरै सवारी दुर्घटना हुने भएकाले सडक क्षेत्रका नागरिकहरुलाई सडक सुरक्षा, उद्धार र प्राथमिक उपचार सम्बन्धि तालिम महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरीको विपद् अस्पतालका डिआइजी डा.रुपक महर्जनले नागरिक सुरक्षाका लागि सडक दुर्घटना पश्चात आवश्वयक प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलले नागरिकहरुलाई विभिन्न समयमा तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो ।
मुग्लिन हाइवे अस्पतालका अध्यक्ष राम बहादुर लामाले सडक दुर्घटनाबाट हुने क्षतीको न्यूनिकरणका लागि नागरिकहरुलाई यस्ता तालिमहरु सहयोगी हुने बताउनुभयो । मुग्लिन हाइवे अस्पताल सडक दुर्घटनामा परेका नागरिकको ज्यान बचाउने उदेश्यले सामाजिक व्यक्तिहरुको सहकार्यमा स्थापना गरिएको बताउनुभयो । आफुहरुले नाफारहित अस्पताल सञ्चालन गरेको बताउनुभयो । दुर्घटना स्थलमा सडक आपसपासका नागरिकहरु अगाडी पुग्ने भएकाले दुर्घटना पश्चात गरिने प्रतिकार्य तालिम महत्वपूर्ण भएको उहाँको भनाई । सडक दुर्घटनापछि गरिने उद्धारबारे नागरिकहरु प्रशिक्षित भएमा दुर्घटनाका घाइतेहरुलाई बचाउन मदत पुग्ने बताउनुभयो ।


इच्छाखबर संवाददाता












