तेजविलास अधिकारी
अझै भ्रान्तिको
भुमरीले छोडेकै छैन
बन्छ देश
आउँछ समृद्धि ।

बाटो हेर्छु
अर्थतन्त्र पढ्छु
यात्रा गर्छु कल्पनामा
घोत्लिन्छु तथ्यमा
बढिरहेछ विदेशी ऋण
थाप्लो हुँदैछ थप भारी
म्याराथुन नै छ
योग्य युवाको
विदेश जाने र पठाउने
सकिएका छन्
खेतीयोग्य भूमि ।

भन्नु होला
निराशाको गीतकार
अहिले छ कहाँ उत्साह
सत्ताका पात्रलाई बाहेक।
छैन सजिलो जीवन गुजार्न
नीति निर्माता फेरिरहेछन् स्वर
गरिरहेछन् यात्रा
यता उता
उता यता
खोजिरहेछ समीकरण नयाँ।
मेरो मगज
आधारयोग्य सूचना
भरोसा लाग्ने जनशक्ति
प्रजातन्त्रमा भोग्दा भोग्दा
आजित छ मेरो यात्रा
नेता बोक्दा बोक्दा
थकित छ मेरो थाप्लो
कति बोकोस्
ऋण बनेर आउने गणतन्त्र
गणतन्त्र भित्र आउने
दम्भी शासक
शासककै आसपासमा रमाउने
नोकरशाहीतन्त्र।

थुप्रै भ्रान्ति पाल्दै
क्रान्तिबाट प्राप्त भनेर
कसरी भनूँ म
मेरो भ्रान्ति
मेरो मात्र हो भनेर
कसरी विश्वास गरूँ
तिम्रो घोषणा–पत्रमा
छापिएको एक–एक
सुकिला नारा
चुनावपश्चात्
शक्ति र सत्ता लम्पट
दुईजिब्रे
समृद्धिको आधार
अनि
नाङ्गो व्यवहार ।