के नै हो र यो कोरोना, घरै बसि जितिन्छू एफ.एम. मा छिनछिनमा यै गीत सुनेकाले लकडाउनको दुई महिना कहिले स्थायी, कहिले अस्थायी जता हो घरमै बसी जित्ने कोशिश गरियो ।
घरमै बस्ने, प्रतिरक्षा शक्ति बढाउने, यत्ति हो अरे कोरोनाको उपचार । ल ठिक छ घरमै त बसौंला, अब प्रतिरक्षा शक्ति चै बढाउने कसरी ? भन्दाभन्दै दुई महिना बितिसक्यो, अझै झन् महामारीको आगो बल्ल सल्किए झैँ स्थिति झनझन् भयावह पो बन्दै छ त यतै, उतै, हुँदाहुँदा नजिकै समेत आरडिटी र पिसिआर पोजेटिभ र नेगेटिभ सामाजिक संजालतिर गाईगुई हल्ला हुँदै सञ्चारमाध्यमहरुमा समेत सुनिन थाले । यसै क्रममा झट्ट एउटा समाचार पढ्ने अवसर प्राप्त भो कागती सेवन गरौं प्रतिरक्षा शक्ति बढाऔ ।
यो उपाय अलि अस्ति नै पनि देखेको त हो तर छिमेकी बहिनीले तरकारी ल्याउँदा छोरा चै ले हातमा खेलाउदै आएका दुईटै दाना कागती हेर्दाहेर्दै फोहोर नालिमा झरेको वल्लोपल्लो घरका चारपाँच जना केटाहरू मिलेर कागतीको सकुशल उद्दार गरेको र धोईपखाली गर्ने क्रममा पच्चीस दुना पचास भन्दै घरभित्र पसेको सम्झेर तरकारी किन्ने क्रममा झुलुक्क कागती देखेपनि फरक्क अन्तै बटारिएर मनमनै भन्थे सुन कागती भन्दा त सुन नै किनौला बरु ।
यस्तैमा, हिजोको समाचारमा पनि यो जिल्लामा यतिजना, अर्को जिल्लामा त्यतिजना, हाम्रै जिल्लामा पनि कोरोनारूपी आगो सल्केको समाचार आउँदाआउँदै अन्तिममा घरै बस्ने, नडराउने, प्रतिरक्षा शक्ति बढाउने बारे कुरा सुनियो । मनले सम्झ्यो कागती । मूल्य जतिसुकै परोस्, एकबारको जिन्दगीमा कागती त खानै पर्ने भो । कतै प्रतिरक्षा शक्ति कमजोर भएर कोरोना भाईरस हाम्लाई नै खोज्दैखोज्दै आउला कि भनेझैं महशुस पो हुन थाल्यो ।
एउटाको दश, तीनवटाको बिस । हिसाब गर्दा एउटाको चानचुन छ रुपैयाँ तेत्तीस पैसाको कुरो आयो । पचासमा दश हुन्न मौका यही हो भन्दै बार्गेनिङको भाषा बोले । त्यति धेरै त कागती नै छैन, दुई र तीनवटा त आफैंलाई चाहिई गो । लगे त्यै बिसको लानुस, नभए अन्तै हेर्नुस् भाइ । तल्लाघरे फुच्चेले नालिमा कागती खसाल्दा निकै ठुलो दुस्ख पाएको सम्झेर कट्टुका दुई र शर्टको एक गरि तीन गोजीमा एकएक कागती सुरक्षित गरे ।
बेलुकी खाना खाएर चुठ्ने बेला पो निचोरिसकेका सिङ्गै कागतीका चोक्टाहरुमाथि एक्कासि नजर पर्यो । तत्काल कान्छीसित स्पष्टीकरण लिए ए थाहै पो पाउनु भएन भिन्डी, करेलाको तरकारीमा पहिले आधामात्रै निचोरेको थिए। पछि अलि लागेन कि भनेर बाकी निचोरेको हो, ठिक्ठिकै मात्रै लाग्या छ । सोचे अचार होइन, तरकारीमा किन चाहियो र धेरै अमिलो ।
भोलिपल्ट बिहान लेमन टि बनाउने क्रममा आधा कागती लिएर सबैको गिलास गिलासमा चुहाए । पिउने क्रममा छोरीले मेरो मुखमा हेरेर सोधी मलाई कागती किन नदिनुभएको बाबा ? सबैले चिया पिउँदै गयौं तर कागतीको स्वाद आएझैं लागेन । छोरालाई कागती लागेन बाबु, त्यो कागती फेरि निचोर त भनेर म एउटा जरुरी फोनबार्तामा लागे । पछि चिया खाई हेर्दा त तितो न तितो । ए राता मकै, कागती कसरी भो यति तितो ? उसले त बिचरा, बाकी कागतीका मसिना टुक्राटुक्रा पारेर दिउरेमा चियासङ्गै खन्याएर पुनः एकछिन उमालेको कुरा पो बतायो । किन यसो गरेको भन्दा, निचोर्दा चामलजस्तो मात्रै आएर रस चै नआएपछि के गर्ने त भन्दै झर्कियो ।
यस्तो कागतीले कति बढ्यो त, प्रतिरक्षा शक्ति ?
अरु ग्राहक नभएको मौकामा पसले दाइसित गुनासो गरे । दाजुले मुसुक्क हास्दै भन्नुभो कागती निचोर्न पनि त जान्नु पर्यो नि सर । म ट्वाल्ल परेकै अवस्थामा पल्याकपुलुक अन्य ग्राहकहरु नभएको पक्का गर्दै मुख मिठ्याई मिठ्याई तरिका सिकाईदिए पहिले कागतीलाई सकेको माडमुड पार्नु, अनिमात्रै तेर्सोपट्टिबाट काट्नु। कागतीको रस जति चाहिएको छ, त्यति नै जसो पानी एउटा कचौरामा लिनु र त्यसमा चोप्दै निचोर्दै, चोप्दै निचोर्दै गर्नु । अझै रस नआए अर्को हप्तातिर आउँछ होला कागती, यै हातले छानीछानी यै भाउमा पठाउला ।
नौलो तरिका सिकेर म रमाउदै घर फर्के ।

रामचन्द्र अर्याल

सिनियर अफिसर, नेशनल लाईफ इन्स्योरेन्स क.लि. धादिङ शाखा।