लगानी                             तेजविलास अधिकारी

लगानी वर्ष रहेछ यसपालि

आम्दानी बढाउन

बढेको आम्दानी बचत गर्न

गर्दैछु थपक्षेत्रमा लगानी

पालिका स्तरमा,

गिटी, बालुवामा

हात फैलाएको छु

प्रदेश स्तरमा,

चुरेभावरमा

थोरै खन्याएको छु

संघमा हाइड्रो र बाटोमा

अलिकति ।

उपभोक्ता समितिको

अध्यक्ष हुँदा

बचेको चिनो अलिकति

त्यतै कुनै एक दुई मेसिन

पार्टी नेता हुँदा समातिएका

एक दुई घडेरीमा

हेरुँ सोचुँ अझै

भएन भने छोरा छोरी सबै

छन् ,अस्ट्रेलिया, युरोप, अमेरिका

नेता भएपछि अलिकति

सान सौगात चाहिने हजुर

प्रदेश र केन्द्रमा

घरमा लगानी गरेकोछु

अहिले राम्रै छ

एउटा तह पार गर्न गाह्रो

राजनीति नियुक्ति के खानु

सिफारिस समितिमा छु।

लगानीको केही प्रतिशत

आम्दानीको केही प्रतिशत

अस्ति मात्र महायज्ञमा।

अदालत पनि त्यस्तै हो हजुर

खुब दुख दियो मलाई पनि

त्यो समय संझिदा पनि

कहाली लाग्ने।

न्यायमुर्ति पनि हाम्रै छन्

राम्रै छन्

त्यसैले

पैसा होइन हजुर

पद होईन अहिले

सम्मान लिन

समाजमा देखिन पो

भ्याइनभ्याई छ।

लगानी त यस्तै त हजुर

अलिकति ढुङ्गामा, गिटी बालुवा…

मिशिन त साझेदारी हो हजुर

खासै के नै आउँछ र !

भर्खर उपभोक्ता अध्यक्ष पनि

आफैं बनेको छु ।