कुरिनटार- नेपालको प्रमुख वाङ्मयसँग सम्बद्ध नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि विभिन्न अध्ययन, अनुसन्धानहरु गराउँदै आएको छ तर ती अनुसन्धान पाण्डुलिपिहरु आमपाठकका पहुँच बाहिरका विषय थिए । एउटा कोठामा सीमित भएका पाण्डुलिपिहरुलाई प्रज्ञा–प्रतिष्ठानले सबैको पहुँचमा ल्याएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न ११ वटा विभागबाट बर्सेनी भाषा, साहित्य, दर्शनशास्त्र, सामाजिकशास्त्र, अनुवाद लगायतका विधामा सयौँ अध्ययन, अनुसन्धान कार्यहरू सम्पन्न हुने गर्दछन् । त्यसमध्ये विज्ञको मूल्याङ्कन, महत्व र प्राथमिकताका आधारमा अध्ययन, अनुसन्धान प्रतिवेदन तथा पाण्डुलिपिहरू ग्रन्थका रूपमा प्रकाशित हुने गरेका छन् तर प्रज्ञा–प्रतिष्ठानका प्राज्ञिक सम्पत्तिका रूपमा रहेका त्यस्ता प्रतिवेदन तथा पाण्डुलिपि प्रज्ञा–प्रतिष्ठानको योजना तथा कार्यक्रम महाशाखाको कोठामा मात्र सीमित हुने गरेका थिए । सरोकारवाला पाठकवर्गका लागि यस्ता प्रतिवेदन तथा पाण्डुलिपिहरू अध्ययन, अनुसन्धानका लागि उपलब्ध थिएनन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले योजना महाशाखामा नयाँ महाशाखा प्रमुख र कर्मचारीको व्यवस्थापन गरेपछि यो योजना अघि सारेको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा पुस्तकालयलाई विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) का रुपमा विकसित गर्ने योजना बनेसँगै सम्बन्धित पाण्डुलिपिहरु पुस्तकालयमा व्यवस्थित गरी पाठकहरू अध्ययनका निम्ति उपलब्ध गराउन थालिएको हो । यसबाट अध्ययन, अनुसन्धानमा लागेका अन्वेषक तथा सम्बन्धित पाठकहरूलाई प्राज्ञिक कार्यमा सहयोग पुग्ने देखिन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले गराएका महत्वपूर्ण अध्ययन, अनुसन्धानका सबै प्रतिवेदन तथा पाण्डुलिपिहरू व्यवस्थित गरी संरक्षण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– “अब खोज, अन्वेषणमा रुचि राख्ने पाठकहरूले प्रज्ञा पुस्तकालयमा ती सामग्रीहरू अध्ययन गर्न पाउनुहुनेछ ।”

प्रज्ञा–प्रतिष्ठानकी योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले प्रज्ञा पुस्तकालयमा पाण्डुलिपि कक्ष तयार गरी प्रतिवेदन तथा पाण्डुलिपिहरू संरक्षण गरिएको बताउनुभयो ।
योजना तथा कार्यक्रम महाशाखाका रञ्जन घिमिरेले अव्यवस्थित रूपमा रहेका करिब १२ सय प्रतिवेदन तथा पाण्डुलिपिहरू प्रज्ञा पुस्तकालयमा व्यवस्थित गरिएको बताउनुभयो ।