
काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।
विरोधसभा अघि काठमाडौंका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको छ । आजको सभालाई नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।
सो समूहको केन्द्रीय सङ्घर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार आज पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।
उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले मंगलबार भिडियो सन्देशमार्फत् प्रदर्शनमा सहभागी हुन सम्पूर्ण जनसमुदायलाई आह्वान गरेका थिए। त्यसअघि उक्त समूहले यही माघ ९ गते पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।