
काठमाडौँ : नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् ।
कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको खुलेर विरोध गर्दै आएका रावलले २०७८ सालमा चितवनमा आयोजित १० औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
पछिल्लोपटक गत दशैंमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउनका लागि जग्गा दानमा लिने पार्टीको निर्णयको उनले खुलेर विरोध गरेका थिए । त्यसपछि अनुशासन विपरीत गतिविधि गरेको भन्दै रावललाई एमालेले पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।