
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको तयारी स्वरुप विभिन्न समिति गठनको प्रस्ताव प्रस्तुत हुनेछ। बैठकमा महाधिवेशनकाका साथै समसामयिक विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले आगामी २०७७ साल फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। गत माघ १३ गते बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ गठन गर्ने निर्णय गरेको थियो। सोही बमोजिम सभापति शेरबहादुर देउवाले समिति संयोजक र सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी गगरेका छन्। कांग्रेसको महाधिवेशन तालिकाअनुसार गाउँरनगर वडा अधिवेशन २०७७ कार्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन ७७ कात्तिक १८ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन ७७ कार्तिक २१ गते सम्पन्न गरिनेछ। त्यस्तै प्रतिनिधिसभा तथा क्षेत्रीय अधिवेशन एवम् एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन २०७७ कार्तिक २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ७७ कार्तिक २५ गते तथा प्रदेश अधिवेशन ७७ मंसिर २९ गते गर्ने निर्णय कांग्रेसले गरिसकेको छ।