
काठमाडौं : पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई नियतवश भ्रष्टाचार मुद्दामा फसाइएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तेस्रो पटक पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्रमी प्रकरणमा गत बुधबार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएपछि कांग्रेस आन्दोलित छ। सडक र सदन दुवैतर्फ आन्दोलित कांग्रेसले आइतवार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो। सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै कांग्रेसका सांसदहरु उभिएर विरोध जनाउँदे बैठक चल्न नदिएका हुन्। यसअघि दुई पटक कांग्रेसका एक एकजना सांसदलाई बोल्न दिएका थिए। तर आइतवार उनले यसअघि नै सबै कुरा सुनिसकेको जनाउँदै कसैलाई बोल्न दिएनन्। आइतवारै कांग्रेसको भातृसंस्था तरुण दलको अगुवाइमा माइती घरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको छ। कांग्रेको अवरोधपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक माघ २८ गतेसम्मका लागि स्थगित गरेका छन्।