काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र ३३ प्रतिसत महिलाको प्रतिनिधित्व पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

अखिल नेपाल महिला संघको एकीकरण तथा शपथग्रहण कार्यक्रममा समावेशिता, समानताको मुद्दाबाहिर नभई पार्टीभित्र उठाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सबैको माग पूरा हुने बताए ।

‘३३ प्रतिसत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ । हामीले ३३ प्रतिसत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं । कम्तीमा ५० प्रतिसत महिला नेतृत्वको कुरा गर्नुस्,’ उनले भने ।

उनले महिलालाई राष्ट्रपति र सभामुख बनाउने एउटा मात्रै पार्टी नेकपा भएको पनि चर्चा गरे ।

कार्यक्रममा महासचिव विष्णु पौडेलले ४ सय ७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई शपथ गराएका थिए ।

गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४ सय ७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिसत प्रतिनिधित्व रहेको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।