धनुषा-मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए।