इच्छाकामना, ३२ असार । राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको नवनिर्मित  प्रशासकिय भवनको उद्घाटन सम्पन्न भएको छ । प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयका प्रमुख गोपाल प्रसाद कडेँलले एक कार्यक्रमकाबिच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।प्रमुख अतिथि सामाजिक विकास कार्यालयका प्रमुख  गोपाल प्रसाद कडेँलले ८ दिनको समय सिमा भित्र रु २५ लाखको काम सु सम्पन्न गरेकोमा प्रसन्न हुदै विद्यालयलाई धन्यवाद दिनुभयो । साथै पछिल्ला दिनहरुमा पनि बागमति प्रदेशबाट हुने सहयोगहरु निरन्तर रहेने  प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयबाट प्राप्त ५० लाखमा भवन र घेराबार निर्माण सम्पन्न भएको हो । विद्यालयका  सहायक प्रधानाध्यापक भविश्वर गुरुङका अनुसार ४० लाखमा भवन र १० लाखमा घेराबार निर्माण गरिएको हो ।   सभाहलसहितको उक्त प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा  वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष रामहरि कडेँल विशिष्ट आतिथ्य रहनुभएको थियो ।  साथै कार्यक्रममा नेकपा माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, पूर्व वडाध्यक्ष गोवद्र्धन अधिकारी, फिस्लिङ प्रहरी चौकीकका प्रमुख  घनश्याम लो लामा,फिस्लिङ टोल विकास संस्थाका अध्यक्ष राम बहादुर गुरुङ, सचिव कर्ण बहादुर गुरुङ, फिस्लिङ वचत तथा ऋण सहकारी संस्था.लिमिटेडका व्यवस्थापक लक्ष्मण श्रेष्ठ, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु ज्ञान बहादुर गुरुङ, पोतासिं गुरुङ र डिल बहादुर गुरुङ, सर्वशान्ति माविका पूर्व प्रधानाध्यापक माधवप्रसाद खनाल लगायतको आतिथ्यता रहेको थियो ।
भौतिक संरचना निर्माणसगैँ विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि तथा  प्रशासनिक कार्यमा सहज हुने विश्वास गरिएको छ । वि.स.२०७५ सालदेखि अंग्रेजी माध्यामबाट  कक्षा सञ्चालन गरेको यस विद्यालयले हाल सम्म कक्षा सात सम्म अंग्रेजीमाध्यमबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयका सहायक प्र.अ. भविश्वर गुरुङले बताउनुभयो । उहाँका अनुसार  विद्यालयको दीर्घकालिन योजना अन्तर्गत  शैक्षिक सत्र २०८३ सम्ममा कक्षा ८ सम्म नै अंग्रेजी माध्यममा पढाई सञ्चालन गरिने छ ।


यस विद्यालयबाट हाल सम्म दुई जना विद्यार्थी  देशकै प्रतिष्ठित विद्यालय  बुढानिलकण्ठमा पठाउन सफल भएको छ ।  २०८१ मा दीप गुरुङ र २०८२ मा अनेका कुमारी कानुले उक्त विद्यालयबाट बुढानिलकण्ठको छात्रवृतिमा नाम निकाल्न सफल भएको हो ।  ७७ कटै जिल्लाका विद्यार्थीहरुका बीचमा प्रतिष्पर्दा गरेर प्रत्येक जिल्लाबाट एक जना छनौट भएर जाने कार्यक्रम अन्तर्गत यस राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङबाट दुई बर्ष निरन्तर छनौटमा पर्न सफल भएको उहाँले बताउनुभयो । वि.सं २०७५ सालमा १२३ जना विद्यार्थी संख्या रहेकोमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि हाल विद्यार्थी संख्या २८२ पुगेको छ । प्रत्येक वर्ष विद्यार्थी संख्या वृद्धि हुदै गएको छ । शैक्षिक सत्र २०८३ मा यो संख्या ३०० पुर्याउने विद्यालयको लक्ष्य रहेको कुरा सहायक प्र.अ. गुरुङ ले बताउनुभयो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सीता गुरुङको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यक्रममा विद्यालयका शिक्षिका दुर्गा कार्कीले स्वागत मन्तव्य तथा विद्यालयका प्रधानाध्यापक जीत बहादुर गुरुङले  धन्यवाद मन्तव्य राख्नुभएको थियो ।