गोरखा : सहिद लखन गाउँपालिका–२ मनकामनामा रहेका टोल विकास संस्थाका अध्यक्षहरूको सम्मान, अभिमुखिकरण, चालु आर्थिक वर्षको योजना समिक्षा तथा आगामि आर्थिक वर्षका लागि योजना सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम शुक्रबार वडा नं. २ की वडाध्यक्ष सकुन थापाको सभापतित्वमा र सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं. २ मा क्रियाशील १५ वटा टोल विकास संस्थाका अध्यक्षहरू सहभागी थिए।कार्यक्रममार्फत टोल विकास संस्थाहरूको भूमिकाको बारेमा विस्तृत जानकारी दिइएको थियो भने प्रत्येक टोल विकास संस्थाले सञ्चालन गरेका गतिविधिहरूको समिक्षा गरिएको थियो। अध्यक्षहरूबाट आफ्नो टोलको आवश्यकताअनुसार आगामी वर्षका लागि सुझाव संकलन गरियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रमेश थापाले टोल विकास संस्था नै जनताको पहुँचमा सरकार पु¥याउने पहिलो आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ टोल स्तरमै योजना छनोट गर्ने, आवश्यकतालाई पहिचान गर्ने र जनसहभागितामा आधारित विकास निर्माणमा टोल विकास संस्था अपरिहार्य अंग हुन्। हामी प्रत्येक टोलमा हुने विकास कार्यमा पारदर्शिता र जनउत्तरदायिता कायम गर्न प्रतिबद्ध छौं।”
स्थानीय तहका योजना टोल तहमै छलफल गरेर अघि बढाइने हो भने विकास जनमुखी हुने भएकाले आगामी वर्षका लागि योजनाहरू छनोट गर्दा स्थानीय आवश्यकता, समावेशिता र दिगोपनालाई प्राथमिकता दिइने बताउनुभयो ।
वडाध्यक्ष सकुन थापाले टोल विकास संस्थाहरूले वडा र गाउँपालिकासँग सहकार्य गरेर नागरिकको सरोकार सम्बोधनमा सकरात्मक भूमिका खेलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“अध्यक्षहरूलाई जानकारीमूलक अभिमुखिकरण दिनु र योजनाका लागि सुझाव लिने कार्य अत्यन्त सकारात्मक हो।”
कार्यक्रममा सहभागी अध्यक्षहरूले योजनाको छनोट प्रक्रिया, बजेटको वितरण प्रणाली, अनुगमन र पारदर्शिता सम्बन्धी आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।यस अवसरमा प्रत्येक टोल विकास संस्थाका अध्यक्षहरूलाई सम्मान–प्रमाणपत्र प्रदान गरिएको थियो।
इच्छाखबर संवाददाता












