
गण्डकी :तरकारी ढुवानीको सहजताका लागि गोरखाको गण्डकी गाउँपालिकाले विद्युतीय रोपवे सञ्चालन गर्ने भएको छ । विद्युतीय रोपवे कार्यक्रमका लागि गण्डकी गाउँपालिका र प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीद्धारा विस्तृत प्राविधिक स्थलगत अध्ययन समेत सम्पन्न गरेको छ । केही वर्ष अघिसम्म हाते रोपवे सञ्चालनमा आएको तथा हाल बन्द रहेको हिक्लुङ थुम्कामा थप स्तरोन्नती गरी विद्युतीय रोपवे सञ्चालन गरी तरकारी तथा सामान ढुवानी गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले बताउनुभयो ।
यस रोपवेबाट हिक्लुङ थुम्काबासीहरुको आवश्यकता तथा व्यवसायिक तरकारी उत्पादनको प्रबद्र्धनका लागी टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । प्रदेशबाट प्राप्त रु ४० लाखमा गाउँपालिबाट थप रु ५० लाख गरी कुल ९० लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले यसको विस्तृत डिजाईन तयार गरी यसै आर्थिक वर्षमा निर्माण सुरु गर्ने गरी कार्य अघि बढाउने जनाएको छ । बर्षाको समयमा पहिरो गइरहने भएकाले ग्रामिण भेगमा सवारी साधन सञ्चालन नहुने भएकाले रोपवे सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष साकारले बताउनुभयो ।