
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । आजको गोरखापत्रमा यो समाचार छ ।बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए ।
नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताए । संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै उनले नेकपाले सभामुखमा दाबी गर्ने बताए ।
बैठकमा पार्टी एकता, स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीको बैठकलाई व्यवस्थित गर्ने विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुरा राखेका थिए ।
त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको कार्ययोजनासहित जनतामा जाने तयारी भइरहेको धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि तयार रहन सांसदलाई निर्देशन दिएका थिए ।