
चितवन : चितवनमा पहिलो चरणमा ६९४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्धको खोप जिल्ला जिल्लामा पुर्याएपछि ९ दिनका लागि तोकिएको खोप तालिका चितवनमा दुई दिन थप गरी आज ११ औँ दिनमा समापन गरिएको छ ।
चितवनमा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा जगन्नाथ तिवारीले लगाएर सुरु गरिएको खोप शनिवार अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लगाएसँगै पहिलो चरणको खोप अभियान अन्त्य भएको हो ।
सुरुका ३, ४ दिन खोप लगाउनेको सख्या न्यून भएपनि पछिल्लो दिनसम्म आउँदा उक्त सख्या बढ्दै गएको थियो । पहिलो चरणमा चितवन जिल्लामा ६ हजार ९४० जनाले खोप लगाएका छन् । जसमध्ये भरतपुर अस्पतालको केन्द्रबाट मात्रै ३ हजार ७२९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । त्यस्तै जिल्लाको अर्को खोप केन्द्र रत्ननगरको बकुलहर अस्पतालबाट ४ सय जनाले, वगौडा अस्पताल माडीबाट ८९ जना, नयाँ मेडिकल कलेजबाट १ हजार ४० जना, पुरानो मेडिकल कलेजबाट ८०८ जना, वृद्धाआश्रमबाट १८९ जना र भरतपुर कारागारबाट ६८३ जनाले उक्त खोप लगाएका हुन् ।
खोप सुरु भएको पहिलो दिन २७९ जनाले खोप लगाएका थिए भने यो संख्या बढेर एकैदिन खोप लगाउने १ हजार २५७ जना सम्म पुगेका थिए । जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव ५ प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए । ती मध्ये ९७ प्रतिशत स्वास्थ्यकर्मीहरु, ८२ प्रतिशत सरसफाइकर्मी र तीनका सवारी चालक, ११८ प्रतिशत एम्वुलेन्स र शव वाहन चालक, ६० प्रतिशत शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, ६० प्रतिशत महिला स्वास्थ्य स्वयसेविका, ४२ प्रतिशत वृद्धाआश्रमका ज्यष्ठ नागरिक र ९४ प्रतिशत कैदीवन्दीमा लक्ष्य हासिल गरिएको हो ।
स्वास्थ्यकर्मी देखि अग्रभागमा रहेकाहरुले उत्साहपूर्वक खोप लगाउनुले यसको विश्वसनीयता बढाएको उनको भनाई छ । चाँडै समुदायमा पनि खोप लगाउन पुग्ने उनले बताए । भरतपुर अस्पतालका प्रवक्ता डा युवानिधि वसौलाले चितवनले पाएको सफलता नेपालकै बढि सफलता भएको बताए ।
जिल्लामा खोप लगाएकाहरुमा सामान्य असर वाहेक अन्य कुनैपनि अवान्छित घटना भएन ।
४ जनालाई खोप लगाएपनि र्यासेज आउने,डावर उठ्ने, चार जनाले सिटामोल खानुपरेपनि समयमै निको भएको डा बसौलाले बताए ।
खोप लगाएको ६ देखि ८ घण्टामा जाडो महसुस भएर जिरिङ हुने समस्या पनि देखिएको थियो । २८ दिनपछि दोस्रो डोजको खोप दिने अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार भरतपुर अस्पतालका मात्रै ५९२ जनाले खोप लगाएका छन् जसध्य १३६ जना डाक्टर रहेका छन् ।
कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । अहिले दोस्रो चरणमा खोप लगाउनेहरुको तथ्याङ्क संकलन कार्य भइरहेको उनले बताए ।