इच्छकामना : चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । अस्पतालको प्रथम बार्षिकोत्सवको अवसरमा इच्छाकामना गाउँपालिकाको आयोजनामा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
विश्वज्योति फर्मा भरतपुर १० चितवनको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा १८० जनाले स्वास्थ्य जाँच तथा उपचार गराएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले बताउनुभयो । उहाँका अनुसार भिडियो एक्सरे १३३ जना, सुगर परिक्षण १४५,यूरिन परिक्षण ३३, स्त्री रोग सम्बन्धी ५० र पाठेघर मुखको क्यान्सर सम्बन्धी २३ जनाले परिक्षण गराएका छन् ।

शिविरमा प्रमुख कन्सल्टेन्ट फिजिसियन प्रा. डा विजयप्रसाद पौडेल, मेडिसिन डा. सुरज सुवेदी, रेडियोलोजिस्ट डा. राहुल श्रेष्ठ ,स्त्री रोग विशेषज्ञ डा. रमेश पौडेल र मेडिकल अधिकृत डा. संगम न्यौपाने लगायतले स्वास्थ्य परिक्षण तथा उपचार गर्नुभएको थियो ।
शिविरको प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले स्वास्थ्य जाँच गराएर उद्घाटन गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल , ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, ५ का वडाध्यक्ष तेज बहादुर शेरचन लगायतको उपस्थिति रहेको थियो ।