इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ भाराङमा रहेको सामुदायिक स्वास्थ्य इकाइलाई औषधि प्रदान गरिएको छ । बुधबार सपना भिलेज सोसल इम्प्याक्टले सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको यहाँका स्थानीयहरुलाई निःशुल्क प्रदान गर्ने गरि औषधी सहयोग गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
रु. १ लाख २४ हजार ११५ रुपैयाँको ३१ प्रकारका औषधि भाराङ स्वास्थ्य इकाइका प्रमुख सूर्य बहादुर चेपाङलाई हस्तान्तरण गरिएको हो । इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरण अनुसार ३१ प्रकारको औषधी सहयोग गरिएको उहाँको भनाई छ ।
सपना भिलेजले इच्छाकामना गाउँपालिकाको वडा नं १ का चेपाङ समुदायको जीवन स्तर उकास्न आयआर्जनका लागि पशुपालन, तरकारी खेती, शिक्षा र स्वास्थ्यमा काम गरिरहेको छ । केही दिन अघि मात्र वडा नम्बर १ का ७०० बढी घरधुरीलाई सुधारिएको चुलो र बालबालिकाको पौष्टिक आहारको लागि सर्वोत्तम पीठो समेत निशुल्क वितरण गरिएको थियो । चेपाङ समुदायको उत्थानको लागि गाउँपालिकासंगको सहकार्यमा विभिन्न क्षेत्रमा काम गरिरहेको सपना भिलेजले पर्यटन प्रवद्र्धनका लागि चेपाङ बस्तीमा होमस्टे सञ्चालनका लागि तालिम लगायत आवश्यक सहयोगहरु पनि गरिरहेको अध्यक्ष गिरिले बताउनुभयो ।