
कुरिनटार, २९ पुस । सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको विभिन्न पक्षको सुधारको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) इच्छाकामनाले विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । विद्यालयमा चमेना गृह (क्यान्टिन)को व्यवस्था , यातायातको सुविधा र अंग्रेजी माध्यममा बोलचालको वातावरण बनाउन माग गर्दै आज विद्यालयका प्रधानाध्यापक जोहन खरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेविसंघ इच्छाकामनाका सभापति सनम पन्तले विद्यार्थीहरु दैनिक जोखियात्रा गर्न बाध्य भएको, खाजा खानका लागि बाहिर जान नदिने गरेको तर विद्यालयभित्र क्यान्टिनको व्यवस्था नभएको र अंग्रेजी विषयमा कमजोर भएको बताउँदै यी कमजोरीहरुलाई तत्काल सामाधान गर्न माग गरिएको बताउनुभयो । शैक्षिक लगायतका अन्य भौतिक सुधारका लागि गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा नेविसंघले विद्यालय प्रशासनलाई ज्ञापनपत्र सहित दबाब दिने पन्तको भनाई छ ।
चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालय गाउँपालिकाभरकै सबै भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय हो । यहाँ चितवनको इच्छाकामना सहित गोरखा गण्डकी गाउँपालिका, सहिद लाखन गाउँपालिका र धादिङ को वेनीघाट रोराङका विद्यार्थीहरु समेत अध्ययन गर्छन् ।
यहाँ विद्यालयले यातायातको व्यवस्था नगर्दा विद्यार्थीहरु सार्वजनिक गाडीमा झुण्डिएर जोखिमयात्रा गर्न बाध्य छन् । साथै कोरोना जोखिमका कारण विद्यालयले खाजा खान बाहिर जान रोक लगाउँदा विद्यार्थीहरुलाई समस्या भएको छ । तत्काल विद्यालय परिषरभित्र क्यान्टिन सञ्चालन गर्न आवश्यक रहेको छ ।