काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ। प्रत्यारोपणको सम्पूर्ण तयारी भइसकेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहे आज ९ बजेदेखि शल्यक्रिया सुरु हुने उहाँले बताउनुभयो
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा.पवनराज चालिसे, डा. सुमन चापागाईँ, डा. सुजित पौडेल, डा. मनिष प्रधान र भारतीय डा. अन्नत कुमार रहेका छन्। अन्नत दिल्लीको म्याक्स हेल्थ केयरका युरोलोजी रेनल ट्रन्सप्लान्ट एन्ड रोबोटिक्स विभागका अध्यक्ष हुनुहुन्छ। उहाँ ओलीको पहिलो मिर्गौला प्रत्यारोपणमा पनि सहभागी हुनुभएको थियो ।
मंगलबारै प्रधानमन्त्री ओलीको डायलसिस गरिएको थियो। प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको प्रा.डा.प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।
तीन घन्टामा प्रत्यारोपण
त्यस्तै प्रा.डा. अरुण सायमीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कार्य करिब तीनघण्टा लाग्ने जानकारी दिनुभयो। मिर्गौला प्रत्यारोपणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीको आत्मबल अभूतपूर्व रूपमा बलियो देखिएको सायमीले बताउनुभयो। चिकित्सकहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि एक साताभित्रै मन्त्रिपरिषद्को बैठकमा सहभागी हुने सायमीले जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो। यसअघि उहाँले भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । यसपटक उहाँलाई भान्जीले मिर्गौला दान गर्ने तयारी गरिएको छ।
इच्छाखबर संवाददाता












