कुरिनटार- पारिवारिक किचलोले झन्डै झन्डै लिलामीमा चढिसकेको चितवनको कुरिनटार नजिक लेवाटारमा रहेको डालिमा केटरर्स एण्ड रिसोटर्स प्रालि बीचमा ब्याज तिरेर सामान्य अवस्थामा फर्किए पनि फेरि समस्यामा परेको छ।
अहिले फेरि पारिवारिक कलहका कारण होटल समस्यामा पुगेको छ। बुहारीको अंश दाबीका कारण सबै सम्पत्ति रोक्का रहेको भन्दै प्रवर्द्धकहरुले ऋण तिरेका छैनन्। पैसा नतिरेपछि मंगलबार प्रभु बैंकले १५ दिन सार्वजनिक सूचना जारी गर्दै लिलाममा चढाउने प्रक्रिया अगाडि बढाएको छ।
यद्यपि यो बीचमा ऋण नतिरे पनि प्रवर्द्धकहरुले विभिन्न ठाउँमा जग्गा भने जोड्दै गएका छन्। ‘यहाँ ऋण नतिर्ने नै मनसाय देखिन्छ,’ स्रोतले भन्यो, ‘सम्पत्ति रोक्का छ भन्ने तर जग्गाजमिन किन्न नछाड्ने तर बैंकले माग्यो भने सकिन भनेर हात उठाउने अवस्था देखियो।’
२०७६ फागुनमा प्रभु बैंकले रिसोर्टलाई लिलामीमा राखेको थियो। लगत्तै चैतमा सरकारले लकडाउन गर्यो। त्यसले व्यवसाय ठप्प हुनेमा सबैभन्दा बढी होटल, रेस्टुरेन्ट र रिसोर्टहरु नै परे। तैपनि कम्पनीले आफूलाई लिलामीबाट जोगाउन २०७६ चैतमा ऋणलाई नियमित गरेको थियो।
त्यसको केही महिनापछि फेरि उसले पैसा तिर्न छाडेको थियो। बैंकले पटक पटक ताकेता गर्दा पनि पैसा नतिरेपछि लिलामीको प्रक्रिया अगाडि बढाइएको बैंक स्रोतको तर्क छ।
करिब २२ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि प्रभु बैंकले होटल लिलामीमा राखेको थियो। रिसोर्टले २०७७ असार मसान्तसम्मको सबै ब्याज भुक्तानी गरेको थयो। त्यसपछि फेरि ऋण तिर्न छाडेको थियो। अहिले फेरि साँवा र ब्याज २२ करोड रुपैयाँ नाघिसकेको बैंकको दाबी छ। त्यो बेला रिसोर्टले ९ करोड भुक्तानी गरेको थियो।
प्रभु विकास बैंकले किस्ट बैंक गाभेलगत्तै डालिमा केटर्स एण्ड रिर्सोट्स प्रालिलाई ऋण दिएको थियो। कुरिनटार नजिक पृथ्वी राजमार्गसँगै जोडिएको यो होटल केही वर्ष अघिमात्रै कृष्णबहादुर कुँवरले किनेका हुन्। कुँवर हस्पिटालिटी क्षेत्रमा परिचित व्यक्ति हुन्। उनको नगरकोटमा पनि सिरिन माउन्टेन रिर्सोट छ भने पुल्चोकको भाटभटेनी नजिकै एम्बर्स रेष्टुरेन्ट पनि छ।
उनले किन्नु भन्दा अघि यो होटलको नाम डालिमा हाइवे रिर्सोट थियो। राजमार्ग हुँदै विभिन्न क्षेत्रमा जाने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै दुई दशक अघि स्थापना भएको यो होटल बीचमा बन्द भएको थियो। केही वर्ष अघि मात्रै यो होटल कुँवरले किनेपछि ठूलो लगानी गरेर आन्तरिक र बाह्य सजावट परिवर्तन गरेका थिए।
होटलमा थप लगानी गरेर सेमिनार हलदेखि स्वीमिङ पुल समेत बनाएका थिए। होटलमा विभिन्न विवाह र व्रतबन्धसमेत गर्न मिल्नेगरी हलहरु समेत बनाएका थिए। त्यो बाहेक पनि होटल अगाडि मार्ट पनि संचालनमा ल्याएका थिए। ठूलो लगानी गरेर होटलको स्तरोन्नति गरे पनि पर्याप्त पर्यटक आएनन्। तैपनि शुक्रबार र शनिबार भने निकै भीड हुने गरेको थियो।
होटलको अरु संचालकमा शारदा कुँवर, दीपेश कुँवर र दीपा कुँवर छन्। उनीहरुले टप नच प्रोपर्टीका नामबाट पनि ऋण लिएका थिए।
प्रभु बैंकसँग ऋण लिन कम्पनीले ललितपुर सुनाकोठीको जग्गा धितोमा राखेको छ। त्यहाँ कम्पनीको १९ रोपनी जग्गा र घर छ। त्यो घरमा कुँवर बस्दै आएका छन्। यसबाहेक टप नच प्रोपर्टिज प्रालिको स्वामित्वमा रहेको चालु सम्पत्ति तथा हाइपोथिकेसन धितो पनि छ। कुँवरको कलंकीमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने घर छ भने जोरपाटीमा करिब ४० वटा सटर रहेको अर्को घर पनि छ।
कुँवर पश्मिनाका पुराना व्यवसायी हुन्। उनले पश्मिनामा निर्यात गरेको भन्दै सरकारबाट सम्मानित समेत भएका थिए। अहिले भने उनले पश्मिना व्यवसाय छाडिसकेका छन्। Bizmandu
इच्छाखबर संवाददाता











