चितवन, भदौ ९ । देशभरका सुनचाँदी व्यवसायी महिलाहरुको क्षमता अभिवृद्धिका लागि महासंघ मार्फत विशेष तालिम संचालन गर्ने सचिव टुलकप्रसाद विश्वकर्माले बताएका छन् । उनले महासंघ अन्तर्गत रहेको प्रशिक्षण (तालिम) रोजगार तथा उद्योग समिति मार्फत तालिमको व्यवस्थापनका लागि आफूले विशेष समन्वय र पहल गर्ने बताएका छन् । रत्ननगर सुनचाँदी व्यवसायी महिला समूह रत्ननगरद्धारा आयोजित बधाई, सम्मान तथा तीज विशेष कार्यक्रममा सचिव विश्वकर्माले सो कुरा बताएका हुन् ।
सचिव विश्वकर्माले भने “महासंघको इतिहासमा पहिलो पटक महिला सुनचाादी व्यवसायीहरुको सशक्तिकरणका लागि महिला सशक्तिकरण समिति गठन गरेका छौं । ” उक्त समितिले महिला सशक्तिकरण अभियान संचालन गर्ने छ ।
“सुनचाँदी व्यवसायीहरुको करचुक्ता प्रमाणपत्रहरु यथासिघ्र महासंघमा पठाउन महासंघले जिल्ला तथा नगर संघहरुलाई परिपत्र गरिसकेको छ” सचिव विश्वकर्माले भने जिल्ला तथा नगर संघहरुबाट जे जति करचुक्ता प्रमाणपत्रहरु महासंघमा आउँछ, सो आधारमा जिल्ला तथा नगर संघहरुलाई महासंघबाट सुन वितरण हुने बताएका छन् ।


रत्ननगर सुनचाँदी व्यवसायी महिला समूह रत्ननगरकी अध्यक्ष निशा घमालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विश्वकर्मासहित महासंघका प्रवक्ता जीवनज्योति सदाशंकर, स्थायी आमन्त्रित सदस्य शंकरइशु पोख्रेल (जुलेन)लाई सम्मानपत्र, माला तथा दोसल्ला प्रदान गरि स्वागत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता जीवनज्योति सदाशंकर, केन्द्रीय सदस्य ऋतु विश्वकर्मा, स्थायी आमन्त्रित सदस्य शंकरइशु पोख्रेल (जुलेन), नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष उत्सव खाती विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष शान्ता थापा विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।