काठमाडौं : सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ ।
सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सहुलियत ब्याजदर(वार्षिक ४.५ प्रतिशत) मा कर्जा दिने व्यवस्था गरिएको छ ।
सैनिक सेवाबाट अवकास भएका व्यक्तिको जीवनलाई सवल र सक्रिय तुल्याउन योगदान पुगोस् भन्ने हेतुले कोषले परिवार तथा आवास अनुदान सहुलियत कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति मासिक रु ४०० का दरले कल्याणकारी कोषबाट अनुदान दिई अवकाश हुँदाका बखत एक मुष्ट साँवा ब्याज लिन पाउने व्यवस्थासहित सकलदर्जाका लागि आवास र बीमा कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ ।
कोषले विगतको द्वन्द्वमा अशक्त भएकालाई राहत स्वरुप ३७ जनालाई स्कुटर, १५६ जनालाई ह्वाल चियर तथा ६५ जनाको नाममा मुद्दति खाता खोलेर प्रतिव्यक्ति रु एक लाख चार हजार जम्मा गरिदिएको जनाएको छ ।
सैनिक विद्यालय तथा महाविद्यालयमा अध्ययन गर्न मौका नपाएका सैनिक परिवारका एक सन्तानलाई १० हजार प्रतिवर्ष उपलब्ध गर्दै आएको छात्रवृत्ति रकमलाई बढाएर २० हजार पु¥याइएको छ । सेवामा रहँदा मृत्यु भएका सैनिकका दुई सन्तानलाई ६ देखी १४ वर्ष उमेर नपुगेसम्म उपलब्ध गराउँदै आएको रु १२ हजारबाट वृद्धि गरी रु २० हजार प्रतिवर्ष पु¥याइएको जानकारी दिइयो ।