काठमाडौं  :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू र अहिलेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा धेरै भिन्नता भएको दाबी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले आफू र शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको उद्देश्य, मनसाय, विधि, प्रक्रिया र नियतमा फरक भएको जिकिर गर्नुभएको हो ।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफूले अध्यादेश ल्याउँदा कुनै पार्टी विशेषलाई फुटाउन नल्याएको तर अहिले एमाले फुटाउनकै लागि अध्यादेश ल्याइएको दाबी गर्नुभयो ।

‘त्यतिबेला पार्टीहरुभित्र असाधारण, असमान्य अवस्था कहीं थिएन। सामान्य विवाद भए पनि कुनै पनि पार्टी फुट उन्मुख थिएनन्,’ ओलीले भन्नुभयो , ‘अहिले एमाले विभाजन गर्नकै लागि राति १२ बजे संसद अधिवेशन अन्त्य गरेर बिहान अध्यादेश ल्याइयो।’