
तेजविलास अधिकारी
परिचय
कालो नैवेद्य कविता संग्रहका रचनाकार कवि कृष्णप्रसाद पोखरेल ( जन्म २०१२ चितवन चुम्लिङटार ) हुन् । लामो समयको साधना र जीवन यात्राका विविध आयाम र आयातनमा अल्झिएको विषय वस्तु उनको “ कालो नैवेद्य “कविता संग्रहमा प्रस्तुत भएको छ । साँढे चार दशक लामो काव्य साधनाबाट खारिएका उनका कविताहरु सूक्तिको रुपमा प्रस्तुत भएका छन् । समालोचक डा. धनेश्वर भट्टराईले लेख्छन् “मूलबाट निस्केपछि फोहरमा नमिसिईकन सलल बगिरहेको कन्चन,स्वच्छ र निर्मल जलतरंग जस्तो आत्मानुशासित र निष्टावान कवि हृदयबाट निस्सृत प्रस्तुत सङ्ग्रहका कविताहरु कविको विचार, व्यवहार जीवनशैली अनुरुप नै अनुभवको आरनमा अर्जापिएर चिन्तनको चास्नीले लछप्प भिजेको हुँदा सुन्दर र हृदयग्राही बनेर आएका छन् ।“
समालोचक विष्णु ज्ञवालीले कवि कृष्णप्रसाद पोखरेललाई युगको समीक्षा गर्न सक्ने कविका रुपमा चिनाएका छन् । तीन पृष्ठ लामो आफ्नो लेखको सारमा समालोचक ज्ञवाली लेख्छन् “ कवि कृष्णप्रसाद पोखरेलका कविताहरु निरन्तर साधनामा लीन बनी गरिएको युगको समीक्षापछि निस्केका आप्तवाक्यहरु हुन् ।ग्रामीण जीवन बाँच्दाका सङ्गीतमय शब्दलहरीले तिनलाई बिछट्टै स्वादिलो पारेको छ “
कवि गोविन्दराज विनोदी आफ्ना कविताहरु मार्फत कवि कृष्णप्रसाद पोखरेललाई एउटा सच्चा स्रष्टाका रुपमा चिनाउँछन् ।
“त्रिशूलीसँगै छन्दमा कुल्कुलाई
नयाँ कल्पना भावना भुल्भुलाई
भरी हार्द संवेदना छन्दसाथ
हिँड्यौ नित्य खोजी युगीन प्रभात ।।“
कवि कृष्णप्रसाद पोखरेलका कविता संग्रहको शुभकामना मन्तव्यमा समालोचक प्राध्यापक जगत उपाध्याय ’प्रेक्षित’ लेख्छन् “ विषयगत विविधता, युगचेतना, लोकजीवनसँगको स्पर्श, निजानुभूतिको हार्दिक उच्छलन, सामाजिक र आर्थिक शोषण, उत्पीडन, अन्याय एवं अत्याचारको विरोध, अग्रज पुस्ताप्रति सम्मान र कृतज्ञभाव, प्रकृति र स्वदेशप्रतिको प्रेम तथा समृद्ध र सुखी समाज निर्माणको चाहनाको अभिव्यन्जना “ कालो नैवेद्य “ कवितासंग्रहका विशेषता हुन् ।“
कविता संग्रह भित्र जम्मा ८२ ओटा कविताहरु सङ्गृहीत भएका छन् । कविले आफ्नो काव्य यात्राको पहिलो कवितादेखि समसामयिक विषय वा प्रसङ्गसम्मका विषयमा आधारित कविता यहाँ राखेका छन् । कवि आफ्नो वारेमा आफैं बोल्दछन् । खासगरि विद्यार्थी जीवनमा रचिएका रचनाहरुले आफ्नै जीवनका भोगाईहरुलाई समेट्ने प्रयास भयो र शिक्षण पेशामा आवद्ध हुँदा शिक्षककै बारे कविता लेखियो । समयसँगै घटनाको प्रभाव सिर्जनामा पर्दोरहेछ । जीवनका बाल्य, जवान र वृद्धावस्थाका भोगाई दुख सुख आदि यसमा समेटिएका छन् ।
थुप्रै फुट्कर कविताहरुको प्रकाशनले कविका रुपमा स्थापित भइसके पछि जीवन यात्राको ६५ वर्ष प्रवेश सँगै यो कविता संग्रह प्रकाशित हुनपुगेको छ । आवरण बाहेक १५६ पृष्टमा समेटिएको यस कविता संग्रहमा लामा छोटा कविताको दोहोरै उपस्थिति रहेको छ । छोटा छोटा कविताहरुलाई टुक्रे कविताको संज्ञा दिन कवि हतारिएका छन् । कविमा पूर्वजहरुको प्रभाव र प्रेरणाबाट प्रभावित भएको कुरा सत्य हो । कवि कृष्णप्रसाद पोखरेलका पितामह हरिलाल शर्मा पोखरेल तत्कालीन समयका विद्वान मात्र होइनन् पुस्तक लेखक पनि थिए भन्ने विषयलाई प्रकाशकीयमा एकराज शर्मा पोखरेलले चर्चा गरेका छन् । उनका अनुसार कवि कृष्णप्रसाद पोखरेलका बाजे पं. ज्यो.हरिलाल शर्माले अध्यापनका अतिरिक्त ज्योतिष शास्त्रीय काम काज तथा काव्य साधना र सिर्जनामा समय बिताएका थिए । उनका कैयौं कृतिहरुमध्ये प्राप्त गोरखा भाषा प्रकाशन समिति अड्डाबाट पास ( स्वीकृति) भै प्रकाशित भएका कृतिहरु निम्नबमोजिम रहेका छन् ।
१ कल्प पाटी (वि.सं. १९८४ मा प्रकाशित)
२ पञ्चाङ्ग दर्पण (वि.सं. १९९३ मा प्रकाशित)
३ त्रियुद्ध गणित (वि.सं.१९९५ मा प्रकाशित)
४ ब्रमाण्ड दर्पण (वि.सं. २००३ मा प्रकाशित)
यो माथिका तथ्यहरुलाई केलाउँदा आफ्ना हजुरबुवाको निधन हुनु आठ महिना पूर्व जन्मिएका कृष्णप्रसाद पोखरेलमा पनि श्रम चेतना त्यही पृष्ठभूमिबाट प्राप्त भएझैं लाग्दछ तथा यिनका पिता गिरिलाल पोखरेल भने काव्य धारा बहाउने स्वभावका नभएर एक सामान्य पढालेखा किसान मात्र थिए । आफ्ना पिता मार्फत हजुरबुवाको ज्योतिष शास्त्रका गणित अध्ययन गर्दा प्रेरणाको प्रभाव परेको बुझिन्छ । सोही प्रभावका कारण २०३३ सालमा नेपाली मिति दर्पण प्रकाशन गरेबाट उनको दीर्घ काव्य साधनाले आज सम्म पनि निरन्तरता पाएको स्पष्ट हुन्छ । झनै६५ वर्षे जीवन यात्रामा कविले पचास वर्षे साहित्य यात्रा पारगरिसकेका छन् । कवि कृष्णप्रसाद पोखरेलले आफ्ना कविताका वारेमा प्रस्तुत गरेको सच्च्याई र कोरेको कवितालाई साक्षी राख्दा पनि आबश्यक घमण्ड र रवाफ कविताहरुमा प्रकट भएका छैनन् । कवि आफ्नो काव्य यात्रामा सघाउने अग्रज घर परिवार र अनुज पुस्ताप्रति पनि त्यतिकै अनुगृहीत रहेका छन् ।
नछ तृप्त हुने उसको पन
अति लुब्ध छ यो दुखी मन ।।
( मन पृष्ठ ६१ )
समस्या हामी सबैमा उहि नभए पनि उस्तै खालको छ । हामी सँग चेतना छ त्यसको सफल प्रयोग चाहँदा चाहँदै पनि त्यसलाई राम्रो मार्गमा हिडाउन परिवेश निर्णायक हुने विषय कविले उल्लेख गरेका छन् ।
नखानु उधारो कमाएर खानु ।
छ बाटो विकट्को समाएर जानू ।।
उठाएँ, बढाएँ, पढाएँ भनेर
यसै बाट गर्वीत पो बन्नुहुन्छ ।।
(“बा“ पृष्ठ ६८)
कवितामा कतै बाको अर्ति उपदेशको महत्व बुझ्न आग्रह गर्दछन् भने कतै कवि आफू नै शिक्षक बनेर आफ्नो ज्ञानलाई प्रसार गर्न भ्याउँछन् । विरोधी विचार र विरोधी स्वभाव दुबैलाई बुझ्दै झन् जिम्मेवार बन्नका निम्ति कवि बारम्बार सुझाउँछन् । समाजमा ढोगी पाखण्डीहरुप्रति कटाक्ष गर्दै कविले नाच्न नजान्नेहरु नै आँगनलाई दोष दिन्छन् भन्दै विविध आयाममा प्रस्तुत हुन्छन् ।
सत्य पथको साथ चुडाली
दिग्भ्रम बाटो झर्छ ओराली
ठक्कर पछिपो हेर्दछ डेरो ।
नाच्न नजान्ने आँगन टेढो ।।
(नाच्न मजान्ने पृष्ठ ५३)
यस संग्रहमा प्रकाशित कविताहरु मात्र नभएर कवि कृष्णप्रसाद पोखरेलका फुटकर रुपमा प्रकाशित दर्जनौं कविताहरु भित्र भावको तीक्ष्णता अत्यन्त तीब्र रहेको छ । कविताहरुमा जस्तै जीवनका गतिविधिलाई शिल्प र शैली मिलाएर प्रस्तुत गर्ने कवि पोखरेल भावमा पोखिएका छन् । आकर्षक बाह्य आवरण र कविता संग्रहको वारेमा लेखिएका छोटा छोटा समीक्षाहरुले पनि उनका कविताहरुलाई पठन बोध गर्न र समीक्षा गर्न सहयोग पुगेको छ । राजनीति चेतना समेत भएका कवि कृष्णप्रसाद पोखरेल सोझै राजनीतिमा मनोरञ्जन गर्न पुग्दैनन् । उनी त विकृत राजनीतिप्रति औला ठड्याउछन् र कलात्मक पारामा व्यङ्ग्य गर्न पुग्छन् ।
समग्रमा यस कविता संग्रहले आम पाठकको मनलाई सूक्तिमय पारामा हुने कुरामा दुईमत छैन । अन्तर हृदय बाट निस्किएका जीवन भोगाइका सूत्रात्मक अभिव्यक्ति आफैँमा शिक्षाको स्रोत, आचरणको पाठ र अनुभूतिको पुञ्ज ठहरिन पुगेको निष्कर्ष निकाल्न सकिन्छ ।
मिति २०७६ पौष २४
इच्छाकामना–३, कमेरे, चितवन