बैंक र ब्यक्तिगत ऋण तिर्न नसकेपछी चन्द्रागिरि नगरपालिका-४ का ३५ वर्षीय विनय लामिछानेले बिहीबार साँझ त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फाले त्यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले भारत गएर आत्माहत्या गरेेका हुन।
दुबै घटनामा कारण ऋण रहेको छ। धादिङ बेनिघाट घटनामा विनयको ३० वर्षीया श्रीमती जमुनाको मृत्यु भइसकेको छ। उनको बिहीबार साँझ नै शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार दुई वर्षीय छोरा विजन र छ महिनाका छोरा अझै बेपत्ता छन्। बेपत्ता उनीहरूको अवस्था अज्ञात रहेको रेग्मीले बताए।
बेनीघाट रोराङ गाउँपालिका बाँदरस्थित त्रिशुली नदीको झोलुंगे पुलबाट उनी श्रीमती र छोरासहित हाम्फालेको प्रहरीले जनाएको छ। साढे ६ बजे हाम्फालेका उनलाई प्रहरीले दस मिनेटभित्र जीवितै उद्धार गरेको थियो।
त्यसको केही समयपछि श्रीमतीको शव नदी किनारमा फेला परेको थियो। तर, दुई नाबालक भने हराइरहेकै हुन्।
प्रारम्भिक अनुसन्धान अनुसार लामिछाने श्रीमती र छोरासहित थानकोटबाट दिउँसो दुई बजे हिँडेको खुलेको छ। घरपट्टि सानो छोरालाई खाना खुवाउने कार्य गर्न नहुने (जुठो परेकाले) भएपछि उनी ससुराली हिँडेका थिए।
उनको ससुराली गजुरी गाउँपालिका-६ हो।
ससुराली घर नजिक आउन लागेपछि उनले किन हाम्फाले भन्नेबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
विनय सकुशल छन्। इलाका प्रहरी कार्यालय गजुरीमा रहेका उनले व्यापारमा एक वर्षभित्र डेढ करोड रूपैयाँ घाटा भएपछि आफूले आत्महत्या गर्न खोजेको बताएका छन्।
प्रहरीका अनुसार उनी अनलाइन व्यापार गर्थे। पछिल्लो वर्षमा घाटा व्यहोरेपछि उनी मानसिक तनावमा थिए।
प्रहरीका अनुसार उनी आत्महत्या गर्ने मनसायले नै हिँडेको देखिएको छ। उनले थानकोटको आफ्नो घरमा सुसाइड नोट छोडेको थाहा भएको छ।
अनलाइन व्यापार गर्नुअघि उनी क्याम्पस पढाउँथे। पढाउने काम छोडेर व्यापारमा लाग्दा उनले एक वर्षमै डेढ करोड क्षति व्यहोरेको देखिएको प्रहरीले जनाएको छ। ‘कारोबार बिग्रेको देखिन्छ, उनले यही तनावका कारण श्रीमतीसँग सल्लाह गरेरै छोरासहित नदीमा हाम्फालेको आशंका गरिएको छ,’ इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले भने।
खड्काका अनुसार उनी गोरखा जिल्लातिरबाट हाम्फालेको देखिन्छ। हाम्फालुअघि पुलको भित्तामा झोला छोडेको भेटिएको छ। झोला खोतल्दा प्रहरीले व्यापारका केही कागजात फेला पारेको छ। सो हेरेपछि प्रहरीले व्यापारमा घाटा व्यहोरेको तथ्य फेला पारेको हो।
लामिछानेले यो घटनाबारे विस्तृतमा बोलेका छैनन्। उनले व्यापारमा घाटा व्यहोरेर तनाव भएपछि आफू नदीबाट हाम्फालेको बताएका छन्।
त्यस्तै बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले आत्महत्या गरेका छन्।
६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ।
खड्काले पुस २९ गते भारतको बहराइच स्थित शंकर होटेलमा विष सेवन गरी आत्महत्या गरेका थिए।
कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले विषादी सेवन गर्नु पहिले लखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरेको हुँदा सहन गर्न नसकेर आत्महत्या गरेको व्यहोरा रहेको बताए।