धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर हत्या गरिएको थियो । यद्यपि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पहिला फलामको लिभरले उनीमाथि प्रहार गरी घाइते बनाएर उनीमाथि टिपर चलाएको बाहिर आएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको थाहा पाएपछि ओमप्रकाश भनिने दिलिप टिपर समात्न गएका थिए । त्यही क्रममा क्रसर उद्योगी सोही ठाउँका २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना.७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवले उनको हत्या गरेको प्रहरी प्रमुख बस्नेतले बताए ।
पत्रकार सम्मेलनमा यी चारै जनालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । ‘यी चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं,’ धनुषाका प्रहरी प्रमुख बस्नेतले भने ।