जुगेडी-युवतीहरुलाई जबर्जस्ती यौन कार्यमा संलग्न गराएको अरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई समाएको छ । काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेका थिए । काठमाडौं डेरा गरी बस्ने १४ र २२ वर्षका युवती गएको कात्तिक २८ गतेदेखि हराएका थिए । उनीहरु चितवनमा फेला परेका हुन् ।

‘उनीहरुको खोजी कार्य चितवन प्रहरीले पनि गरेको थियो। मोबाइल फोनको लोकेसन खोज्दै जाँदा उनीहरु जुगेडीमा रहेको खोटाङ होटलमा बसेको फेला पर्‍यो। होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्दार गरेको हो’ चितवन प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लले भने।

ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालन भएको होटलमा राखेर जर्बजस्ती यौन कार्यमा संलग्न गराउने गरेको पत्ता लागेको एसपी मल्लले बताए। प्रहरीले होटल सञ्चालक जुगेडीका ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्रीलाई समाएको छ। त्यसैगरी सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राईलाई पनि समाएको छ।

‘रोशिकाले ती युवतीहरुलाई काठमाडौंबाट फकाएर जुगेडीसम्म ल्याएको खुलेको छ’ एसपी मल्लले भने। उनीहरु शनिबार समातिएका हुन्। जुगेडीको उक्त होटलमा यौन गतिविधि हुने भूमिगत कोठा पनि रहेको मल्लले बताए। पिडित युवतीका आफन्तले पक्राउ भएका व्यक्तिहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अपराधमा सजाय माग गर्दै उजुरी दिएको एसपी मल्लले जानकारी दिए। अपराध प्रमाणित भए १० देखि १५ वर्ष कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म कैद हुने कानुनी व्यवस्था छ।
source- Ekantipur