चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १६ फूर्तीचोकमा रहेको बुढा निलकण्ठ ब्रिडर्स फार्म प्रालिमा उत्पादन भएको चल्ला नष्ट गरिएको छ ।
नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीहरुले फार्ममा गएर चल्ला नष्ट गरिदिएका हुन् । आफूहरुको आन्दोलनको अवज्ञा गरेर चल्ला उत्पादन गरेको भन्दै संघका पदाधिकारीहरुले उद्योगमा नै पुगेर चल्ला मारेका हुन् । संघले १० दिनसम्म चल्ला उत्पादन नगर्न आह्वान गरेको थियो ।
बुढा निलकण्ठ ब्रिडर्स फार्म प्रालिका सञ्चालक देवेन्द्र श्रेष्ठकाअनुसारका संघका मान्छेले चार हजार दुई सय कुखुराका चल्ला नष्ट गरिदिएका छन् । उनीहरुले आइतबार बिहान उत्पादन भएको कोइरल चल्ला नष्ट गरिदिएका हुन् । चल्लाको बजार मूल्य दुई लाख १० हजार रुपैयाँ रहेको श्रेष्ठले बताए ।
चल्ला नष्ट गर्न संलग्न रहेको अभियोगमा प्रहरीले नेपाल ह्याचरी उद्योग संघका तीन जना पदाधिकारीलाई पक्राउ गरेको छ । चितवनमा हरेक आइतबार र बुधबार ह्याचरीबाट चल्ला निकाल्ने गरिन्छ ।