राजविराज – स्थानीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाई माग गर्दै नेपाली कांग्रेस सप्तरीले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ ।

शम्भुनाथ नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेस सप्तरीले प्रदर्शन गरेको हो। गत मंसिर १३ गते आफ्नै वडाकि महिलालाई कुखुरा र्फममा बोलाई जर्बजस्ती बलात्कारको प्रयास गरेको आरोपमा वडाध्यक्ष साह मंसिर २४ गते पक्राउ परेका थिए।

शुक्रबार पार्टी कार्यालयबाट निस्कएको जुलुसले वडाध्यक्ष साहलाई रिहा गर  भन्ने नारा लगाउँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। जुलुसपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई रिहाइ माग गर्दै ज्ञापन पत्र पनि बुझाइयो।

पीडित महिलाको उजुरीको आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी कृष्ण प्रसाइले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ। साहसँगै मोहम्मद नसिम र अनिल रायलाई पनि पक्राउ गरिएको छ।

सप्तरी कांग्रेसले भने उनलाई योजनाबद्ध ढंगले फसाउन खोजिएको दावी गरेको छ। ‘राजनीतिक प्रतिशोधनको भावनाले प्रेरित भई नियोजित ढंगले निवेदिका महिलालाई परिचालन गरी फँसाइएको हाम्रो पार्टीको अध्ययनबाट देखिएको छ,’ कांग्रेस सप्तरीका सभापति दिनेश यादवले भने। उनले प्रहरीले विनाअनुसन्धान मुद्दा दर्ता गरेकाले पनि फसाउन खोजेको प्रमाणित हुने दावी गरे।

उनीहरुलाई तत्काल रिहाइ नगरिए बाध्य भई कडा संघर्षमा जाने निश्चित रहेको उनको भनाई छ।