चितवन, मंसिर २३ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–२ का अध्यक्षमाथि कुटपिट गर्ने तथा अमानवीय व्यवहार गर्नेहरुलाई कडा कारबाहीको माग गरिएको छ ।

वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङलाई शनिबार साँझ कुटपिट गर्ने, कालोमोसो र जुत्ताको माला लगाउनेहरुलाई कारबाहीको माग गर्दै नेपाल चेपाङ संघको ३ नम्बर प्रदेश कार्यकारिणी समितिले सोमबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।

समितिले उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ, विजय गुरुङ, गिताबहादुुर गुरुङ, जोखालाल गुरुङलगायतलाई कारबाहीको माग गरेको हो ।

यता, प्रहरीले उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।