मुग्लिङ । त्रिशूली र मर्स्याङ्दी उच्चाटलाग्दो सुुसाइ रहेका थिए । पारि मुग्लिनतिर दोहोरीलत्तो सवारी थिए । वारि तनहुँ जाने बाटोतिर पनि सवारी र यात्रुको चाप उस्तै । तनहुँ जाने बाटोसँगै जोडिएको पुराना फ्रेस फिस रेस्टुरेन्टमा ग्राहकको घुइँचो थियो । अघिपछि पनि पाइला राख्ने ठाउँ हुँदैन । आज त झन् आइतबार ! कतै कुनै टेबुल खाली थिएनन् ।
भर्खरै सञ्चालनमा आएको मुग्लिन दोभानको पुलमाथि स्वेटर र पाइन्ट लगाएकी अन्दाजी वर्ष २० की युवती देखिइन् । बाटो बिराएजस्तो धेरैबेर यताउति गरिरहिन् ।
उनका पदचाप विलकुल शून्य थिए ।
केही बेर टोलाएपछि उनले झोलामा रहेको मोबाइल निकालिन् । कानमा लगाउँदै केहीबेर कुराकानी गरिन् । उनले के कुरा गरिन् त्यो सुन्ने साक्षी भने जोसँग कुरा गरिन् उनै बाहेक कसैले सुनेन । करिब पाँच मिनेट यस्तै दृश्य दोहोरिरह्यो, टाढैबाट यो दृश्य नियाली रहेका पत्रकार दिलादत्त पन्त भन्छन् ।
नजिकै रेस्टुरेन्टमा त्रिशूलीका माछाको स्वाद चाखिरहेकाहरूले युवतीका क्रियाकलापको खासै वास्ता गरेनन् । वास्ता गर्ने कुरा पनि आएन । सबै आ–आफ्नै धून र धन्दामा थिए ।
रेन्टुरेन्टमा काम गर्ने सुमन कुमालले युवतीको हाउभाउ नदेखेका होइनन् तर, ‘‘होला कुनै काम’’ भन्दै ग्राहकको सेवामा लागे ।
बाह्रखरीसँगको कुराकानीमा उनका साथी सन्तोष गुरुङ बेलिबिस्तार लगाउँछन्, “सुमन अर्को टेबलमा पुगेका पनि थिएनन्, मुग्लिनको नयाँ पुलबाट युवती एकाएक हाम फालिन् । फूलको थुङ्गा झैं ती युवती सीधै नील–भँगालामा खसिन् !”
अघिदेखि युवतीको रहस्यम हाउभाउको दर्शक बनिरहेका सुमनका खुट्टा लुलिए । मुटु बरफको ढिक्का बन्यो । एकछिन त के गरौं, कसो गरौंको भावमा मूर्तिवत् भए ।
केही क्षणको सन्नाटा चिर्दै उनले सन्तोषलाई भने, “पुलबाट केटी हाम फाली ! लौन बचाऊँ ! हे राम !”
केटी हाम फालेको थाहा पाउनासाथ रेस्टुरेन्टमा खाना खाइरहेकाहरू जुठै हात लिएर बरन्डामा आए । कति सडकतिर दौडिए । कति चप्पलै नलगाई पुलमै पुग्न भ्याए । तर, आँखै अगाडि हावामा कावा खाँदै नदीको मझधारमा परेकी युवतीको उद्धार गर्ने आँट कसैमा आएन ।
अलि पर्तिर यी सबै दृष्यको साक्षी बसिरहेका पन्तको पनि हात पुर्पुरामा पुग्यो । आँखै अगाडि युवती त्रिशूलीमा हाम फाल्दा पनि केही गर्न नसक्दा ग्लानीले गाँज्यो । धेरैबेर चुकचुकाए पनि ।
अताल्लिएका रेस्टुरेन्ट सञ्चालकले धन्न मोबाइल फेला पारेछन् । लक समेत नखोली सुरुमै १०० मा डायल गरे ।
“हेलो.. ! यहाँ मुग्लिन पुलबाट मान्छे हाम फाल्यो । बचाउन आउनुपर्यो !,” सुरज गुरुङ त्यतिबेलाको क्षण सम्झिँदै बाह्रखरीलाई भन्छन् ।
मैले मोबाइलतिर हात लम्काउन भ्याउँदा नभ्याउँदै रेन्टुरेन्टमा टेबलटेबलमा खाना पुर्याइरहेका सन्तोष त्रिशूली किनारतिर सोझिइसकेका थिए । गोताखोर जसरी लुगा पनि नफुकाली झ्वाम्मै त्रिशूलीमा हाम फाले, चिसोको पर्वाह नगरी ।
मर्स्याङ्दी र त्रिशूलीको दोभान । वरिपरि मानिसको चिच्याहट । खोलाको बिरक्तलाग्दो सुसाई । हतारमा उनले दिशा लिनै भ्याएनन् । आँखा चिम्लिएर बाँकटे हाने । संयोग भनौं युवतीको हात फेला पर्यो । उनले भएभरको बल खिचे । युवतीलाई च्याप्पै समातेर किनारतिर ताने ।
यति गर्दा नगर्दै दश मिनेट बितिसकेको थियो । नेपाल प्रहरी आइपुग्यो । तर, उनीहरू पनि के गरौं ? कसो गरौं ? को भावमा अलमलिएकै थिए ।
सडक, नदीको किनारमा रमिते चुकचुकाइरहेका थिए, “हेर कसको छोरी हो ? कहाँ कि हुन् ? यहाँ आएर… के देख्नु पर्यो नि ! शिव शिव… !”
यतिञ्जेलमा सन्तोषले युवतीलाई किनारमा ल्याइसकेका थिए । प्रहरी पनि त्यहीं पुग्यो । युवतीलाई किनारमा त ल्याए तर उनले आँखा खोलिनन् । पाथी–बाह्रमाना पानी खाइसकेकी हुँदिहुन् । पेट डम्म फुलिसकेको थियो ।
सन्तोषले जानेको सीप प्रयोग गरे । यस्तो अवस्थामा के गर्नुपर्छ सोच्नै, गम्नै परेन । धादिङ घर भएका सन्तोष बालखैदेखि अभ्यस्त थिए । उनले तुरुन्तै युवतीलाई उँधो मुन्टो लगाए । पेट हल्का थिचेर मुखबाट पानी निकाले । घायल युवतीको हातमाथि आफ्नो हात राखेर घोटे । पाँच मिनेटपछि युवतीले आँखा खोलिन् । सास फेर्न थालिन् ।
प्राण बच्यो । सन्तोषले ठूलो सास फेरे ।
राज… तिमीले गर्दा…
युवतीले आँखा उघार्नेबित्तिकै बोलेकाे शब्द थियाे, राज । तर, ती राज को थिए ? कहाँका राज हुन् ? राज र ती युवतीबीच के नाता–सम्बन्ध पर्थ्यो ? थाहा भएन ।
बरु युवतीलाई पूर्ण होसमा ल्याउने यत्नमा प्रहरीले साथ दियो ।
युवती बोल्न सक्ने भइन् । आँखाले इशारा गर्दै भनिन्– “भाइ मेरो ब्याग खोलैमा छुट्यो, ल्याइदेऊ न !”
मर्न भनेर खोलामा हाम फालेको मान्छेलाई झोलाको चिन्ता ! अचम्म…। आश्चर्यमा परिरहने सुविधा थिएन । एकातिर युवती जीवन र मरणको दोसाँधमा छिन् । अर्कोतिर उनी झोला ल्याइदिन अनुनय गरिरहेकी छन् ।
जाडाले कठ्यांग्रिएको शरीर लिएर सन्तोष पुनः नदीको भँगालामा हेलिए । यसपटक उनी भुमरीतिर सोझिएछन् । झण्डै त्रिशूलीको माछाको आहारा बनेनन् । पौडन पारङ्गत सन्तोषले भुमरीको पर्वाह गरेनन् । नदीमा डुबुल्की मार्दै मूल प्रवाहतिर सोझिए । पर झोला तैरिरहेको रहेछ ! सायद यसलाई पनि युवतीलाई छाड्न मन नहुँदो हो ।
“यी लिनुहोस् झोला..!” उनले युवतीको हातमा झोला थमाइदिए ।
सन्तोष जीवन बचाएको क्षण सम्झन्छन्, “झोला पाएपछि युवतीको आँखाबाट धेरै आँसु बग्यो । यति धेरै आँसु बग्यो कि मैले धेरैबेर उनको आँखामा हेर्न सकिनँ । रुँदैरुँदै उनले राजको नाम लिइरहिन् ।”
क्षणभरमै उनले नदीमा हाम नफालेको भए ती युवतीको लाश त्रिशूलीको किनारमा तैरिरहेको हुन्थ्यो अथवा बालुवाले छोपी सकेको हुन्थ्यो । प्रहरी मुचुल्का तयार पार्नतिर व्यस्त हुन्थ्यो ।
तर, सन्तोष उनका लागि भगवान् सावित भए । उनले आफ्नो ज्यान त्रिशूलीको जिम्मामा छाडिदिए । आफू युवतीको ज्यान बचाउन उद्धत भए ।
सन्तोषले जीवन रक्षा गरिदिएपछि युवती कृतज्ञ देखिइन् । उनको आँखामा जीवनबोधको छाया सलबलायो ।
“कि मलाई मर्न दिनुस्, कि मलाई अस्पताल लानूस्,” युवतीको अनुहारको आवेगको ज्वाला बल्ल निभ्यो । आफ्नो ज्यानको खुबै माया लागेर आएछ सायद ।
अस्पताल लैजान अनुरोध गर्न थालिन् । छातीमा असह्य पीडा भएझैं गरिन् । भर्खरै मृत्युको दहमा डुबुल्की मारेकाले पनि युवतीको अनुहार कहालिन थाल्यो । युवतीको हातगोडा पानीले ढाडिसकेका थिए ।
लुगाफाटो सबै भिजेकाले लगलगी काँपिरहेकी थिइन् । रेस्टुरेन्ट सञ्चालकले लुगाफाटो ल्याएर लगाइदिए । रेस्टुरेन्ट सञ्चालकको मानवता र करुणा देखेर रमितेहरूका आँखा सीमसारजस्ता देखिए । प्रहरी पनि चित खाए । त्रिशूली र मस्र्याङ्दीको जोर सुसेली मानताको साक्षी बसिरह्यो ।
युवतीको अनुरोध अगावै प्रहरीले स्ट्रेचर तयार पारिसकेका थिए । एम्बुलेन्स पनि आइपुगिसकेको थियो ।
क्षणिक आक्रोश–आवेगको बेग थाम्न नसकेर नदीमा हाल फालेकी र मुत्युको भेलमा डुबुल्की मार्दै गरेकी युवती बचाउन सकेकोमा सन्तोष प्रफुल्ल देखिन्थे ।
प्राण हल्केलामा राखेर युवती बचाउन नदीमा हेलिएको क्षण शब्दमा समेट्दै सञ्चालक सुरज भन्छन्, “ऊ मेरो काकाको छोरा हो । उसको जोखिम मोल्ने साहस देखेर म निःशब्द भएको छु । नदीमा बग्दै गरेकी युवतीलाई निस्प्राण हुनबाट जोगायो । मसँग धन्यवाद दिने शब्द पनि छैन ।”
यो समाचार तयार पार्दा नपार्दा एउटा शुभसमाचार सुनियो ।
जीवनमा भोग्नु परेको यातना–प्रताडना सहन नसकेर कलिलै उमेरमा नदीको भेलमा मिसिन खोज्ने र आफ्नो जीवनको अन्त्य आफ्नै आवेग बनाउन खोज्ने ती युवतीलाई रेष्टुरेन्ट सञ्चालक विजय गुरुङले छोरी बनाएर बाँकी जीवन दिशानिर्देश गर्न चाहेका छन् ।
“सन्तोषले ती युवतीको प्राण बचायो । म धर्मछोरी बनाएर उनलाई जीवनका सुख–दुःखसँग परिचित गराउँछु । जीवनको बाटो देखाउँछु,” सञ्चारकर्मी दिलादत्त पन्तमार्फत् उनले भनेका छन् ।
निभ्नै आँटेको दियोलाई नदीको भेलबाट जोगाएर उज्यालो छर्न खोज्ने ती मानवता र करुणाका प्रतिमूर्तिलाई हाम्रो पनि सलाम !
सञ्चारकर्मी दिलादत्त पन्तको सहयोगमा