चितवन : आत्महत्या गर्न नवनिर्मित मुग्लिङ पुलबाट त्रिशूलीमा हामफालेकी एक युवतीलाई होटलका मजदुरले बचाएका छन्।

आइतवार दिउँसो मुग्लिङ पुलबाट आत्महत्या गर्न हामफालेकी ती युवतीलाई स्थानीय होटेलका मजदुरले त्रिशूलीमा हेलिएर बचाएका हुन्।

प्रत्यक्षदर्शी डिल्लीप्रसाद पन्तका अनुसार आइतवार दिउँसो पौने ३ बजेको समयमा ती युवतीले मुग्लिङ पुलबाट हामफालेकी थिइन्। तर उनले हामफालेको देख्नेबित्तिकै मुग्लिङको होटेलका केही मजदुर त्रिशूलीमा हेलिएर उनलाई जीवितै निकाल्न सफल भएका हुन्।

त्रिशूलीमा युवतीले हामफालेपछि इलाका प्रहरी कार्यालय मुग्लिङको प्रहरी टोली पनि उनको उद्धारमा पुगेको थियो। ती युवतीले आफुले बोकेको झोलासहित त्रिशूलीमा हामफालेकी थिइन्।

‘हाम्रो करिब २० मिटरको दुरीबाट उनले हामफालेकी थिइन्। तर तत्कालै होटलका कामदारहरुले त्रिशूलीमा पसेर बचाउन सफल भए’, उनले भनेका छन्, ‘यी बहादुर युवाहरुले युवतीको झोला पनि त्रिशूलीबाट निकालेका छन्।’

हामफालेकी युवतीका चप्पलबाहेक अरु सबै सामान युवाहरुले त्रिशूलीबाट निकालेका थिए। त्रिशूलीबाट निकालिएकी युवतीलाई उपचारका लागि अस्पताल पठाइएको छ।