
काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ । कस्तो हुन्छ त त्यो नक्सा रु नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।त्यो सार्वजनिक नगरी थन्क्याइएको छ ।
नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ । लिम्पियाधुरामा तीनवटा गाउँ छन् । कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन् ।
काली नदीको मुहान् लिम्पियाधुरा हो । त्यहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ । काली नदीको मार्गमा पार्वती कुण्ड पर्छ ।
पार्वती कुण्डको माथिदेखि छोटा कैलाश छ । पार्वती कुण्डमा काली पानी मिसिन्छ। त्यहीं काली मन्दिर पनि छ। काली नदीलाई स्थानीयमा कुटी याङ्दी भनिन्छ । त्यहाँ सौका समुदायको बसोबास छ ।
सुगौली सन्धिअघि नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म थियो । सन्धिपछि नेपालको दुईतिहाइ भूमि गुमेको छ । सुगौली सन्धिमा कालीपारि नेपालले दाबी गर्ने छैन भन्ने उल्लेख छ । सुगौली सन्धिको बुँदा ५ मा ‘नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारी वा वारिसका लागि काली नदीको पश्चिममा पर्ने देशसित सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन,’ उल्लेख छ ।
यो समाचार र तस्बीर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।