कुरिनटार : पृथ्वी राजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लीङ्मा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाईते भएका छन् । मृत्यु हुनेमा काँभ्रेको वेनपा नगरपालिका वडा न १० वस्ने ६४ वर्षीया राधिका देवि वराल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढवाट काठमाडौं तर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको ट्रकले काठमाडौंवाट मुग्लिन तर्फ आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो । एच आर ५८ ए ८१०२ नम्वरको ट्रकले वा २ ज २५४ नम्वरको ट्याक्सीलाई आज दिउँसो ठक्कर दिएको थियो । ठक्करवाट घाईते भएका पाँच जना मध्ये वरालको मृत्यु भएको प्रहरीले जनाएको छ । वरालको पुरानो मेडीकल कलेजमा उपचारको क्रममा साँझ मृत्यु भएको हो ।
घाईते हुनेमा ३९ वर्षिय नारायण वराल, ६४ वर्षिया सितादेवि अधिकारी, ३९ वर्षिया चन्द्रकला अधिकारी, र ७२ वर्षिय वावुराम अधिकारी रहेको प्रहरीले जनाएको छ । घाईते मध्य सितादेविको अवस्था गम्भिर रहेको र अन्यको मध्यम रहेको छ ।
ठक्कर खाने दुवै सवारी साधन र ट्रकका चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।