मुग्लिन २१ असार । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा जनचेतना बढ्दै गएपछि यहाँ हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुदैँ गएको हो ।
गाउँपालिकाभित्र रहेका पाँचवटा स्वास्थ्यचौकीमा गत आर्थिक वर्ष २०७४र७५ मा १३२ जनाले सुत्केरी गराएको गाउँपालिकाका स्वास्थ्य प्रमुख धनकुमार खड्काले जानकारी दिनुभयो ।खड्काका अनुसार उक्त आर्थिक वर्षमा ५१६ जनाले पहिलो गर्भ जाँच गराएका थिए । भने नियमित चार पटक १४० जनाले गर्भ जाँच गराएका थिए । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।
यसैबीच आर्थिक वर्ष २०७५र७६ को साउनदेखि चैत मसान्तसम्मको नौ महीनामा ७९ जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् ।त्यस्तै ३४० पहिलो गर्भ जाँच गराएकामध्ये १४० जनाले भने चार पटक गर्भजाँच गराएका थिए ।खड्काका अनुसार गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा गर्भजाँच गराएकामध्ये केहीले भरतपुरलगायत अन्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेका छन् ।
पछिल्लो समयमा स्वास्थ्यचौकीमै गएर सुत्केरी गराउनुपर्छ भन्ने जनचेतना र स्वास्थ्यचौकीले दिने २४ घण्टे सेवाका कारण स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको सङ्ख्यामा बढेको खड्काले बताउनुभयो । साथै स्वास्थ्य संस्थामा गर्भवती गराउनेलाई गाउँपालिकाले हर्लिक्स र सुपको निःशुल्क व्यवस्था समेत गरेको छ ।
स्वास्थ्य संस्थामा छोरी जन्माउनेलाई बैँकमा खाता खोली रु १० हजार रकम जम्मा गर्ने व्यवस्था गरेको छ ।
वडा न ४ पूर्ण संस्थागत सुत्केरी
वडा न– ४ पूर्ण संस्थागत सुत्केरी वडा भएको छ । सरकारले तोकिएको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा भएको हो ।
दारेचोक स्वास्थ्य चौकीका इन्चार्ज हरि देवकोटाका अनुसार आर्थिक वर्ष २०७५र७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये ६ जनाले मात्र घरमै सुत्केरी गराएको पाइएको छ ।
यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५।५ प्रतिशत हो । पूर्ण संस्थागत सुत्केरी घोषाणा गर्न ९५ प्रतिशतले स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनुपर्ने छ ।रासस