हुम्ला,९ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाको बैठकमा भाग लिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् ।

पहिलो जिल्ला कमिटि बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले सुर्खेतबाट सिमकोट र सिमकोटबाट कालिकोटको यात्रा हेलिकोप्टरबाट गरेका हुन् ।

हरेक दिन नेपालगञ्ज र सुर्खेतबाट नियमित २ दर्जन भन्दा बढी हवाई उडान भइरहेका बेला मुख्यमन्त्री र मन्त्रीले पार्टी बैठकमा भाग लिन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् ।

आपतकालिन उद्धारका लागि भन्दै सुर्खेतमा बस्ने हेलिकोप्टरलाई मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले पार्टी कार्यक्रमका लागि प्रयोग गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मुख्यमन्त्री, सामाजिक विकास मन्त्री सवार हेलिकोप्टरको भाडा ताँजकोट गाउँपालिकाले व्यहोर्ने कुरा मन्त्रीबाट आफूले जानकारी पाएको बताए ।

प्रति घण्टा १ लाख २० हजारका दरले भाडा लिने नेपाली सेनाको हेलिकोप्टर पार्टी कार्यक्रममा २ दिन होल्ड भएको सेनाको एक स्रोतले जानकारी दिएको छ ।