चितवन,२३ जेठ ।
नारायणी नदीमा पानीजहाज सन्चालनको सम्भाव्यता सम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले हिजोबाट पहिलो चरणको अध्ययन सुरु गरेको हो ।चितवनको दासढुंगा देखि नेपाल-भारत सिमानामा पर्ने गण्डक ब्यारेज सम्म करीब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको हो ।
आवश्यक तथ्यांक संकलन गरिसके पछि प्रारम्भिक अध्ययन गर्ने र त्यसको आधारमा अर्को वर्ष विस्तृत अध्ययनको काम अघि बढाउने योजना रहेको जल तथा ऊर्जा आयोगको सचिवालयका सह सचिव ऋषिराम शर्माले जानकारी दिए ।नाप जाँचको सम्पूर्ण काम एक महिना भित्र सम्पन्न गरि सक्ने लक्ष्य राखिएको छ । दुई दिनको अवधिमा १५ किलोमिटर क्षेत्रमा प्रारम्भिक अध्ययन सकिइसकेको छ ।
अहिले सम्म कममा ३ देखि बढीमा १२ मिटर सम्म गहिरो स्थान फेला परेको अध्ययन टोलीले जनाएको छ ।‘सबै अध्ययन सकिइ सकेपछि कुन प्रकारको जहाज चलाउने भन्ने टुंगो लाग्ने छ । ठूलो जहाज चलाउने नै भए ड्याम बाध्नुपर्ने पनि हुनसक्छ,’ अध्ययन टोलीमा संलग्न परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक अनुप खनालले भने, ‘यद्यपि अहिलेको हाम्रो प्रारम्भिक अध्ययन गहिराइ नाप्ने मात्र हो ।’नारायणी नदीको गहिराइ नाप्न डी.जी.पी.एस. प्रणालीमा चल्ने इको साउन्डर र मोटरबोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको छ । यो मेसिन यसअघि भेरी बबई बहुउद्देश्यीय परियोजनामा पहिलो पटक प्रयोग गरिएको थियो र सफल पनि भएको थियो ।
खनालका अनुसार यो अन्तर्राष्ट्रिय स्तरको प्रविधि हो र यसले गर्ने नापजाँच विश्वासिलो हुन्छ । यो मेसिनलाई डुंगा वा र्याफि्टङ बोटमा जडान गरी सजिलैसँग नदी वा तालको गहिराइ नाप्न सकिन्छ ।
तर, नारायणी नदीमा अहिले पानीको बहाव बढेकाले मोटर बोटमा जडान गरेर गहिराइ नाप्ने काम भइरहेको छ । www.onlinekhabar.com बाट साभार