केशवराज आमोदी
जनजागृति मा वि पिठुवामा अध्ययनरत रहदा मैले चर्चित लघुकथाकार दुर्गा घिमिरेलाई अनुशासित र प्रतिभावान् शिष्यको रूपमा पाउँदै गर्दा उनले त्यहीबाट एस एल सी गरी उच्च शिक्षाका लागि त्रि वि वि बाट स्नातकोत्तर गरेपश्चात् हाल शैक्षिक संस्थामा अध्यापनरत देखिन्छन् । किशोरावस्थादेखि नै गीत , कविता र लघुकथाजस्ता साहित्यिक सृजनामा रुचि रहेका घिमिरे असाध्यै मृदुभाषी , व्यवहारकुशल र सहृदयीमात्र छैनन् अपितु अनुशासित र कर्तव्यनिष्ठ पनि छन् ।
जीवनका लागि प्रकृतिगत प्रकाश , पवन , पानी र मृत्तिकाको आवश्यकता भएअनुरूप सभ्य र समुन्नत सामाजिक जीवनका लागि वा सर्व-स्वीकार्य समाज रूपान्तरणका लागि सृजना पनि एउटा भरपर्दो आधारभूमि हो । यही आधारभूमिमा रहेर मानिसले चेतना प्रक्षेपणका क्रममा साहित्यको रचना गर्दछ कारण साहित्य समाजको प्रेरक प्रतिरूप हो , अनुकरणीय सभ्यताको सोपान हो र द्रुतगामी विकासको शाब्दिक रेखाङ्कमात्र नभई सभ्य समाजको समुन्नत राजपथ पनि हो ।
साहित्यप्रति रुचि हुनुकै कारणले उनी राष्ट्र उत्थान साहित्य प्रतिष्ठानका संस्थापक-संरक्षक हुन् । विद्यालय र क्याम्पसमा पढ्ने भाइ-बहिनीहरूलाई प्रोत्साहित गर्दै यदाकदा यसै संस्थामार्फत ‘जागृति’ नामक पत्रिकाको संपादन , प्रकाशन र साहित्यिक गतिविधिहरू चलाउदै आइरहेका छन् ।
कथाकार दुर्गा घिमिरेले समाजमा देखिने विकृति विसङ्गति र विद्रूपतालाई रचनाका माध्यमबाट जनपक्षीय पक्षधरताको समर्थन र सहानुभूतिमा सामाजिक रूपान्तरणको मनोविज्ञानमय वर्गीय चेतना र जागृतिको आगो ओकल्ने यथार्थवादी , प्रगतिवादी र क्रान्तिकारी भावनाका विद्रोही स्रष्टा हुन् । यतिखेर उनी ‘ चम्पा’ ( लघुकथासङ्ग्रह , २०८१ ) न्यु क्यापिटल कलेजको सभाहलबाट लोकार्पित भइसकेको छ । यस शुभघडीमा खुशी व्यक्त गर्दै कृति र कृतिकारको पूर्ण सफलताको कामना गर्दछु ।
आजभोलि लघुकथाको लोकप्रियता शिखरमा रहेको छ ।मातापिताप्रति समर्पित गरिएको छ र लगत्तै केशवराज आमोदीको शुभकामना मन्तव्य र पश्चावरणमा प्रसिद्ध समालोचक डा. धनेश्वर भट्टाराई , कवि प्रकाश चापागाई र हाइकुकार विष्णुप्रसाद पौडेल अपरिचितका तिखरिला छोटा मन्तव्यले कृतिको ओजले समन्वित यस ‘ चम्पा , नामक लघुकथामा अक्षर , अन्तर , आदर्श , आन्दोलन, आमाको माया , कवि रामबहादुर , गणतन्त्र , गाउँ सभा , भोगाइ , चाकरी , जन्मभूमिको माया , जीवन चक्र , जुठे र तित्रा , ढाका टोपी , तिहार , दीननाथ , दीपा , दुधको गुणस्तर , दुधको मूल्य , देशको माया , देश प्रेम धर्ममणि ,नयाँ म्यानेजर नियुक्ति , परिवर्तर्तन , पश्चाताप , पिर , पुरस्कार , पेन्डिङ , प्रतियोगिता , प्रवृत्ति , प्रेम परीक्षा , बा , भ्राष्टाचार भाइरस , भ्रातृत्व प्रेम , चम्पा , भ्यालेन्टाइन डे , रत्नमान , लज्जा , लुकेको प्रतिभा , वन , विवाद , विरोधाभास , शिश्टता , सहिद , सम्मान , साहित्य उत्थान , संयोग , संवेदना र स्मारिकाजस्ता ५१ वटा चेतनामूलक सामाजिक मनोविज्ञानमा आधारित यथोचित कथानकता र पात्रअनुकूल संवाद , नवीनतम शैली , शिल्प र एकदेशीय आख्यानात्मकतामा बुनिएका राम्रा कथाहरू रहेका छन् ।
कथाहरूको रूपविन्यास , शैल्पिक बान्की , आरम्भ र समापनको समुचित गठजोड , सापेक्षिक कथावस्तुता , पारिणामिक परिणति र परिवेशजन्य पात्रसंवाद , परिस्कृत र परिमार्जित पदविन्यास , सन्दर्भ अनुकूलित दफा परिवर्तन , भाषिक सरलता र पाठकीय कुतूहलताजन्य वाक्यरचनाका फेहरिस्त र समीक्षणका सन्दर्भमा मापन गरिने बीज , बिन्दु , पताका , प्रकरी र कार्यका प्रभावान्वितिहरूद्वारा आकलन गरिने तथ्यबाट लघुकथाकार परिचित हुदै सृजना-साधनामा नित्य-निरन्तर अभ्यासमा हुनुपर्दछ र लघुकथाकार दुर्गा घिमिरेको कथाकारिता वा प्रविधिगत कमीकमजोरीलाई अनावरण गरी उत्साहलाई कम गर्न चाहिन । कथा सुन्दर र सङ्ग्रहणीय बनेको छ ।
कथानकताको समग्र स्वरूपलाई कलाका माध्यमबाट हेरिने हुँदा कथाकार एक प्रकारले कलाकार पनि हो । आगामी दिनमा अझै राम्रा र सामाजिक रूपान्तरणका लागि अपेक्षित आख्यानात्मक कला , सीप , सौन्दर्य र रूपविन्यासमा जोड दिइएका सृजनाहरू कथाकार दुर्गा घिमिरेले ल्याउने नै छन् भन्ने शुभकामनासहित बिदा माग्दछु ।
•रत्ननगर नगरपालिका , चितवन