जिल्ला अदालतअगाडिको चोकमा चिया पिउँदै हामी केही लेखक नेपाली साहित्यको वर्तमान अवस्थाको बारेमा कुरा गर्दै थियौँ । “अचेल नेपाली साहित्यमा मान सम्मान पनि धेरै भयो ,कस्तो चलन !
सम्मान पनि अत्यन्तै सस्तो भो ! दुईचार ओटा केही साहित्य सिर्जना गर्यो भन्दैमा उसलाई अभिनन्दन गरिहाल्यो ।” अपरिचित भन्दै हुनुहुन्थ्यो,” अपिलजीलाई सायद अपरिचितजीको कुरो मन परेन क्या हो । उहाँभन्नु हुन्थ्यो, “सम्मान गर्नु त राम्रो कुरो हाे नि सर ! बिचरा साहित्यकारहरू राज्यले हेर्दैन ; यतिसम्म संस्थाको तर्फबाट भाको छ ।” “मैले नराम्रो भनेको होइन तर यसको महत्त्व र गाम्भीर्यतालाई नबुझी सम्मान गर्दा त्यो सम्मानित व्यक्तिको स्तर र उसको नेपाली साहित्यप्रतिको योगदानको मूल्याङ्कन सही हुँदैन कि भन्ने मेरो गुनासो हो ।”अपरिचित सर हामीलाई बुझाउन खोज्दै हुनुहुन्थ्यो । यसरी हामी गफिदै गर्दा हाम्रो अगाडिबाट हिँडेको जमातले हाम्रो विषय प्रसङ्गलाई नै मोडिदियो -“हेर्नु त ति अहिलेका चर्चित मोटिभेसनल गुरु होइनन् ? दिपकजीले हाम्रो ध्यान उतैतिर खिचिदिनु भयो
“हो हो” सबैको एकै स्वरमा एकै चोटि
“संसारमा केही असम्भव छैन भन्दै हिँड्ने यो गुरुलाई के भएछ ? खुबै मिलन ,प्रेम र आदर्शको कुरो गर्थें । वास्तवमा यिनलाई के भएछ ? “परिवारिक जीवन सुखमय बनाउन सकिन्छ भनेर कयौँ युवा मानिसको अगाडि चर्चित बनेका थिए । थुप्रै राष्ट्रिय संस्थाहरूले प्रेरणादायी कार्यक्रममा उनलाई बोलाइएको थियो ।”मैले के यतिको भन्न भ्याएको थिएँ । अर्को साथीले कुरो थपिहाले,
“के हुन्न यो दुनियामा ! यिनकी श्रीमतीले घरेलु हिंसाका नाममा मुद्धा दाखिला गरेकी थिइन् आज यिनीहरूको छोडपत्र हुँदैछ ।
अर्का अपरिचित साथी जिस्काउँदै हुनुहुन्थ्यो “हजुरहरूकै भाइरल स्पीकरहुन् क्यारे, हजुरहरू पनि अब त्यतै जाने हो की !”
मेरो मनमा अनायास उही शब्द दोहरियो “घरेलु हिंसा”कठै बरा ! भाइरल स्पीकरहरूको हालत आफ्नाे धोती स्याहार्न भ्याउँदैनन् अरुलाई आदेशका पाठ सिकाउँछन् । म एक्लाे एकोहोरो त्यही जमातलाई हेरिरहेँ ।साथीहरू भने जर्याकजुरूक उठेर आ-आफ्नो बाटो लागे ।
इच्छाखबर संवाददाता












