चितवन  :  चितवनमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ २० गतेसम्म लम्बिएको छ। कोभिड(१९ संकट व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा लम्याउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयले केही बुँदाहरुलाई परिमार्जन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी, कस्मेटिक तथा गिफ्ट, डिपार्टमेन्टल, सुनचाँदी, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल्स, टेलरिङ, जुत्ता(चप्पल, पुस्तक तथा स्टेशनरी, निर्माण सामग्री र खाजाघर, रेष्टुरेन्ट तथा मिठाइ पसल दैनिक दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने पाइने जारी आदेशमा उल्लेख छ।
होटलको हकमा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पूरा गरी क्षमताको आधा संख्यामा सेवाग्राही राख्न पाइने र हरेक दिन होटलका सबै कोठालाई निसंक्रमण पार्नुपर्ने जारी आदेशमा उल्लेख छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि सेवा सञ्चालन गर्न पाइने, तर सहकारी संस्थाहरुले घरदैलोमा गएर रकम संकलन तथा भेला गर्न भने बञ्चित गरिएको छ।
जिल्लाका सबै सरकारी कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न पाइने आदेशमा उल्लेख छ। तर कर्मचारीहरुलाई आलोपालो गरी भीडभाड नहुने उपाय अपनाएर सेवा प्रवाह गर्नुपर्ने जारी आदेशमा उल्लेख छ। यसअघि सेवाग्राहीको चाप बढी हुने सरकारी कार्यालयमा सेवा प्रवाह बन्द गरेको थियो।
यसअघि जारी गरिएको आदेशानुसार भदौ १० गते मंगलबारसम्म निषेधाज्ञा जारी गरेको थियो। संक्रामक रोगको समस्याबाट बच्न यसअघि नै जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ। अब पछिल्लो आदेशानुसार भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ। निषेधाज्ञाको उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने प्रशासनले जनाएको छ।