
चितवन ,५ भदौ । देशभरका ६ महानगरमध्ये चितवनको भरतपुर महानगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भरतपुर महानगरको बेरुजु सबै भन्दा कम देखिएको हो ।
भरतपुरको बेरुजु २.०२ प्रतिशत मात्रै छ । महानगर प्रमुख रेनु दाहालले कुल बेरुजु मध्ये आधा भन्दा बढी पेस्की बेरुजु रहेको जानकारी दिनुभयो । पेस्की बेरुजु छिट्टै फछ्र्योट हुने समेत बताउनुभयो ।
लेखा परीक्षण हुँदासम्म बेरुजु शुन्यमा झार्ने उहाँको भनाई छ । “कुल बेरुजु मध्ये आधा भन्दा बढि त पेस्की बेरुजु छ, जुन काम सकिएपछि रूजु हुनेछ, उनले भन्नुभयो , फेरि लेखा परीक्षण गर्दासम्म बेरुजु शुन्यमा झार्नेछौं ।”
६ महानगरमध्ये काठमाडौं महानगरपालिकाको बेरुजु सबैभन्द बढी छ । काठमाडौंको ११.८६ प्रतिशत बेरुजु देखिएको छ । काठमाडौंपछि वीरगञ्ज महानगरमा धेरै बेरुजु रहेको छ। वीरगञ्जको ८.२६ प्रतिशत बेरुजु देखिएको छ।
उता ललितपुरको ७.२२ प्रतिशत, पोखराको ७.४२ प्रतिशत र बिराटनगरको ३.२१ प्रतिशत रहेको छ । महानगरको समग्र बेरुजु ७.३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।