चितवन  : इजाजत बिनाका औषधी ओसारपसारमा संलग्न ८ जना व्यक्तिहरुलाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार उनीहरुको साथबाट ३१ लाख ५ हजार ६३३ मुल्य बरावरको औषधी समेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।
उनीहरुलाई हिजो बिहान इलाका प्रहरी कार्यालय माडीमा प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । भारतबाट ठोरी नाका हुँदै नेपालतर्फ आउदै गरेको ना ४ ख ४४२५ नम्वरको गाडी चेकजाँदा गर्दा डिक्कीमा बोरामा लुकाएर ल्याइएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधी बरामद भएको हो । उक्त औषधीको कुल मुल्य २१ लाख १० हजार ५३२ रुपैया रहेको छ भने आज विहान माडी ९ बगही खोलाको किनार स्थित झाडीमा वेवारिसे अवस्थामा ९ लाख ९५ हजार १ सय रुपैया बरावरको बरामद भएको एसपी गुरुङले बताउनुभयो ।
एसपी गुरुङका अनुसार औषधी व्यवस्था विभागसँग राय सल्लाह अनुसार थप अनुसन्धानको कार्य भइरहेको र नेटवर्कीङ व्यापारमा संलग्नहरुको यसको विक्रि वितरण गर्ने गरिएको प्रारम्भिक चरणमा खुलेको छ ।