राजेन्द्र न्यौपाने
गोरखा, २६ चैत । शहिद लखन गाउँपालिका विपद्व्यवस्थापन समितिको निर्णय अनुसार परिवार संख्याको आधारमा मजदुर , गरिव, असहायहरुलाई प्रति परिवार १७ केजी देखि ६७ केजी सम्म राहत वितरण गर्ने निर्णय गरेको छ ।
गाउँपालिकामा मंगलबार बसेको बैठकले २ जना सम्मको परिवारलाई १३ केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, एक केजी केराउ, मसला, वेसार दिने निर्णय गरेको हो । त्यसैगरी ४ जना सम्मको परिवारका लागि ३३ केजी, ६ जना सम्मको परिवारका लागि ५१ केजी र ६ जना भन्दा माथिका संख्यामा रहेका परिवारलाई ५० केजी चामल र अन्य गरी ६७ केजी दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।
गाउँपालिकाले केन्द्र र प्रदेश सरकारको आदेश पालना गर्दै आफ्नो कार्यक्षेत्र भित्र रहेका कुनै नागरिकलाई भोको नराख्ने बताएको छ । विपद्व्यवस्थापन कोषमा यस अघि नै रहेको २५ लाख मध्येबाट खर्च गर्ने निर्णय भएको थापाले बताए । यस अघि नै स्वास्थ्य संस्थाहरुमा थर्मल गन थर्मोमिटर, पिपिइ लगायतका स्वास्थ्य सामग्रीहरु स्वास्थ्य संस्थामा पुर्याईसकेको स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए ।