काठमाडौं : नेपाली कांग्रेसले सरकारले आफ्ना मान्छेलाई जोगाएर प्रतिपक्षी पार्टीका मान्छेलाई फसाउने नियत राखेको आरोप लगाएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री, सचिवसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विषयलाई लिएर यस्तो आरोप लगाएको हो ।
पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले आयोगलाई गलत ढंगले प्रभावित पारी पूर्वाग्रहपूर्ण र राजनीतिक बदनियतले प्रेरित भई गच्छदारविरुद्ध मुद्दा दर्ता गराइएको आरोप लगाएको हो ।
कांग्रेसले यही प्रकरणपछि बिहीबारका लागि आह्वान गरिएको केन्द्रीय समिति बैठक स्थगित गरेको थियो ।
‘बालुवाटार जग्गा प्रकरणमा सूक्ष्म अनुसन्धान गरी कारबाही गर्नुपर्छ भनेर कांग्रेसले शुरूदेखि नै आवाज उठाउँदै आएको हो’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘चार दर्जन सदस्य रहेको मन्त्रिपरिषद्मा एउटा मन्त्री मात्र कसरी दोषी देखियो रु’
मन्त्रिपरिषद्मा मुख्यसचिवले प्रस्ताव पेस गर्ने र प्रधानमन्त्रीको सहमतिबेगर कुनै प्रस्ताव पारित नहुने भन्दै एउटा मन्त्रीलाई दोषी देखाएर मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह भएको उनको भनाइ रहेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले लेखेका छन् ।