मुग्लिन : चितवनको मुग्लिनका होटलहरुको सरसफाईमा सुधार आएको भेटिएको छ । आइतबार अनुगमनका क्रममा विगतका दिनहरुमा भन्दा सरसफाईमा सुधार आएको भेटिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुर र जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गरेका थिए ।अनुगमनका क्रममा केही होटलहरुमा मुल्य सुची नराखिएको,खानाहरु नछोपी राखिएको , सौचालय र किचन नजिक रहेको भेटिएकाले सुधार गर्न सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरका अधिकृत बिक्की राउतले बताउनुभयो । ती होटलहरुलाई सचेत गराईएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही होटलहरुमा समान्य सुधारको आवस्यकता देखिएकोले सुधार गर्न सचेत गराइएको छ,तर समग्र रुपमा मुग्लिनका होटलहरुको स्थिति सन्तोषजनक भेटिएको छ ।” विगतका दिनहरुमा भन्दा होटलहरुको सरसफाईमा सुधार आएको उहाँले बताउनुभयो ।
साथै एक किराना पसलमा म्याद गुज्रिएको सामाग्रीहरु भेटि नष्ट गरेको पनि उहाँले जानकारी दिनुभयो । उक्त किराना पसललाई सचेत गराइएको उहाँले बताउनुभयो ।
साथै मुग्लिनका होटलहरुमा सिसी क्यामरा जिल्ला प्रशासन कार्यालयबाट अनुमती नलिई कन राखेको भेटिएका छन् । उनिहरुलाई प्रशासनबाट अनुमती लिनका लागि सुझाव दिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि श्यामसुन्दर ढकालले बताउनुभयो । अनुगमनमा होटल व्यवसायी संघका प्रतिनिधि, जनप्रतिनिधि र पत्रकारहरुको पनि सहभागिता रहेका थिए ।