
मुग्लिन,४ माघ । नेपाल प्रहरीका प्रमुख महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सचेत गराउन आग्रह गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय इच्छाकामना ५ मुग्लिनको भवन शिलान्यास गर्नुहुदैँ महानिरिक्षक खनालले संगठन भित्र पनि केही कमीकमजोरी हुन सक्ने भन्दै प्रहरी नागरिकसंग सहकार्य गरेर अघि बढेको संगठन भएकाले कहीकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनु पर्ने बताउनुभएको हो ।
महानिरिक्षक खनालले भन्नुभयो, “संगठनभित्र सबै राम्रो हुन्छ भन्ने हुदैँन , साना तिना केही भए तपाईहरुले आफ्नै सम्झेर पनि यसो गर है भनेर सम्झाउनुपर्छ, नागरिकबाट यस्तो गुनासो आएका छन् है भन्नुपर्छ ।” प्रहरी संगठनभित्र पनि केही कमीकमजोरी हुने भएर नै दण्ड सजायको प्रावधान राखिएको उहाँको भनाईछ ।
साथै महानिरिक्षक खनालले प्रहरी राष्ट्र र समाजकै लागि भएकाले श्रोत र साधनले मजबुद बनाउन लागिपरेको बताउनुभयो । उहाँले सबै स्थानीय तहसंग सहकार्य गरेर अघि बढीरहेको बताउनुभयो । प्रहरी शान्ति सुरक्षा दिन सक्षम रहेको भन्दै उहाँले विकासको कार्यमा कसैले पनि अवरोध हुन नदिने बताउनुभयो । विकास निर्माणको कामममा अवरोध गर्ने ठेगान लागउने बताउदैँ उहाँले त्यसतो समस्या परेमा तत्काल खबर गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामना गाउँपालिका दुर्गम पहाडी भेग र व्यस्त राजमार्ग पनि भएकाले प्रहरी जनशक्ति बढाउनुपर्ने बताउनुभयो । उहाँले गाउँमा घटना घट्दा तत्काल प्रहरी पुग्न नसक्ने भएकाले प्रत्येक वडामा प्रहरी एकाई राख्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले देशका समृद्धिका लागि शान्ति सुरक्षा आवस्यक रहेको बताउनुभयो । प्रहरी विना शान्ति सुरक्षा कायम नहुने र उद्योग संचालन गर्न नसकिने भन्दै उहाँले शान्ति सुरक्षा दिने प्रहरीका लागि आवस्यक भौतिक सुविधाहरु मजबुद बनाउनु पर्ने बताउनुभयो ।
भवनबारे जानकारी दिदैँ बागमती प्रदेश प्रहरी कार्यालयका टिएसटी प्रमुख प्रहरी नायव उपरिक्षक शंकर सिलवालले ४ कट्टा ६ धुरमा बन्ने उक्त भवन निर्माणका लागि रु ६ करोड ५० लाख लागत अनुमान गरिएको बताउनुभयो ।
यस भवन ग्राउण्ड फ्लोर सहित ४ तल्लाको रहने छ । ग्राउण्ड फ्लोरमा मेस र हिरासत कक्षा, पहिलो र दोश्रो तल्लामा व्यारेक र तेश्रो तल्लामा संचार, कार्यालय प्रमुख निवास र अफिसर क्वाटार रहने जनाएको छ ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेशका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक शेर बहादुर बस्नेत, प्रहरी प्रधान कार्यालय बजेट महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरिक्षक दीपक थापा,बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाट , जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक एक नारायण कोइराला, गाउँपालिका उपाध्यक्ष कृतिुकमार श्रेष्ठ,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ लगायतकोे उपस्थिति रहेका थिए ।
भवन जिर्ण भएर चर्किएपछि इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरीहरु त्रिपालमुनी बस्न बाध्य भएका थिए ।
उक्त भवन एक बर्षभित्र निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।